logo
२०८१ बैशाख १४ शुक्रवार



पत्रकारको अभियानमा जोडिन पाउँदा खुसी छु : पूर्वमन्त्री ज्ञवाली

राष्ट्रिय |
प्रदेश |


पत्रकारको अभियानमा जोडिन पाउँदा खुसी छु : पूर्वमन्त्री ज्ञवाली


तिलाचन पाण्डे
तम्घास, चैत १८ गते । नेकपा (एमाले) उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकारको अभियानमा जोडिन पाउँदा खुसी लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गुल्मीले चलाएको अक्सिजन प्लान्ट सञ्चालनको अभियानमा तत्कालीन परराष्ट्रमन्त्री रहँदा नेपाल सरकारको तर्फबाट एक करोड रुपियाँ विनियोजन गरेर अभियानमा जोडिन पाउँदा खुसी लागेको बताउनुभएको हो ।

गुल्मी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको बिहीबार उद्घाटन गर्नुहुँदै उहाँले जनताको ज्यानलाई बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कोभिड महामारीमा पत्रकार महासङ्घ गुल्मीले चलाएको अभियानले देशभर चर्चा पाएको सन्दर्भमा नेपाल सरकार पनि साथमा रहेको अनुभूति गर्ने गरी आफूले पहल गरेको उहाँले बताउनुभयो । आफू सधै गुल्मेली जनताको सुखदुःखमा साथ रहेको भन्दै गुल्मीको स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटन बिकासमा सधैं आफ्नो साथ रहने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले गुल्मेली मनहरुले एक गाँस कटाएर यस अभियानमा सहयोग गरेको भन्दै अभियानले सार्थकता पाएको बताउनुभयो । कोरोना महामारीमा अक्सिजन नपाएर धेरैले ज्यान गुमाएको भन्दै अक्सिजनको अभावमा गुल्मेलीले ज्यान गुमाउन नपरोस भनेर अभियान चलाएको प्रष्ट पार्नुभयो ।

प्लान्टबाट दैनिक ४० सिलिन्डर अक्सिजन उत्पादन हुनेगरेको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले जनाकारी दिनुभयो । त्यसमध्ये दैनिक १० सिलिन्डर गुल्मी अस्पतालमै खपत हुनेगरेको उहाँले जानकारी दिनुभयो । अक्सिजन सिलिन्डर भरेर बिक्री गर्न निश्चित मूल्य तोकिएको पनि गुल्मी अस्पतालले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घको अभियानबाट ६० लाख रुपियाँ र नेपाल सरकारको एक करोड गरी एक करोड ६० लाख रुपियाँमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कार्यक्रममा अस्पतालमा खटिने उत्कृष्ट कर्मचारी, अभियानमा जोडिनेलाई सम्मान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?