गोरखापत्र अनलाइन
ललितपुर, चैत १८ गते । ललितपुर महानगरपालिका १८ बाट ठूलो सङ्ख्यामा नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । २०४६ सालको जनआन्दोलनपछि पाटन मुक्त क्षेत्र घोषणा भएको दिन आज शुक्रबार नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन । नवप्रवेशीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, पोलिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाललगायतले खादा लगाएर पार्टी प्रवेश गराउनुभयो ।
वडा १८ मगरगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको एक नम्बर पार्टी एमालेमा पार्टी प्रवेशको लहर जारी रहेको बताउनुभयो । दैनिक सयौ नेता र कार्यकर्ता पार्टीमा प्रवेश गरिरहेको उहाँले बताउनुभयो ।
आगामी वैशाख ३० गते हुने निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि एक नम्बरको शक्तिशाली पार्टी बनाउने उहाँले दावी गर्नुभयो । स्थानीय तह निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट ल्याएर विजय हासिल गर्नेछौं उहाँले भन्नुभयो । पार्टी प्रवेशको लहर चलेपछि पाँच दलीय गठबन्धन डराएको उहाँको भनाइ छ ।
“अब कसैले चाहेर चुनाव रोकिँदैन, तपाईहरु निर्वाचनको परिणाम आएर विजयी जुलुस ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस्, जित सुनिश्चित छ” उहाँले भन्नुभयो ।
एमाले महानगर कमिटिका इन्चार्ज मञ्जली शाक्यले मुलुकभर एमाले एक नम्बरको पार्टी हुने दाबी गर्दै त्यस सफलतको लागि आजैबाट व्यापक प्रचारमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद जीवन खड्का, एमाले बागमती प्रदेश सदस्य दामोदर खड्का र प्रदेश सदस्य अमृत खड्का, एमाले जिल्ला उपाध्यक्ष प्रेमभक्त महर्जनले ललितपुरको महानगरसहित सबै वडामा एमालेको जित सुनिश्चित रहेको बताउनुभयो ।
कार्यक्रममा १८ नम्बर निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरिएको सो दलले जनाएको छ । सात वटा टोल कमिटिका अध्यक्षसहित पदाधिकारी र सदस्यको सो अवसरमा शपथग्रहण गरिएको छ ।
सातवटा टोल कमिटिको अध्यक्षमा थाना गाउँका इन्द्रलाल महर्जन, जलविनायकका जितलाल श्रेष्ठ (गोपाल), पाखागाउँका अस्मिता बोगटी, बत्सलादेवीका अञ्जु थापा, मिलनबस्तीका लक्ष्मण कट्वाल, मगर गाउँका राममणी गौतम र खड्का गाउँका राधेश्याम खड्का लगायतलाई इन्चार्ज सुशीला नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।