logo
२०८१ बैशाख १३ बिहीवार



सञ्चारग्राम अनुसन्धान केन्द्रको रुपमा विकास हुन्छ : मन्त्री कार्की

राष्ट्रिय |
प्रदेश |


सञ्चारग्राम अनुसन्धान केन्द्रको रुपमा विकास हुन्छ : मन्त्री कार्की


गोकुल पराजुली
विराटनगर, चैत १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनलाई सबैले उत्सवको रुपमा लिएर सहभागी हुनुपर्ने बताउनुभएको छ । विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको नवनिर्मित भवन उदघाटन गर्दै उहाँले आगामी तीनै तहको निर्वाचन सबै सहभागी भएको, निष्पक्ष र धाँधलिरहित ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

लोकतन्त्रको जगको रुपमा रहेको आवधिक निर्वाचनलाई सबैले उत्सवको रुपमा लिएर सफल बनाउनुपर्ने उहाँको सुझाव छ । जनताको संघर्षबाट राजनीतिक उपलब्धिहरु प्राप्त भएपनि जनताको जीवनस्तरमा परिवर्तन नआइसकेको भन्दै उहाँले राज्यले साधन स्रोत प्रयोग गरेर आगामी १० वर्षभित्र देशलाई दक्षिण एशियाको धनी बनाउने गरी वर्तमान पुस्ता अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले सञ्चारग्राम भावना मात्र नभई खोज र अनुसन्धानको महत्वपूर्ण केन्द्रसमेत रहेको बताउनुभयो । ‘सञ्चारग्राम भावना मात्र होइन अध्ययन, अनुसन्धान अन्तरक्रिया र गतिविधिका लागि महत्वपूर्ण छ,’ मन्त्री कार्कीले भन्नुभयो ‘खोज अनुसन्धान र मिडिया उन्नयनका लागि भइरहेको ठाउँको अभाव यो सञ्चारग्रामले पूरा गरेको छ ।’ प्रदेश सरकार र स्थानीय सरकारले समेत सञ्चारग्रामको सदुपयोग गर्न मन्त्री कार्कीले आग्रह गर्नुभयो ।

लामो पहल र प्रयत्नपछि प्रदेश १ मा निर्माण भएको सञ्चारग्राम उद्देश्यअनुरुप सञ्चालन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएकै कारण सञ्चारग्राम बन्ने वातावगरण बनेको भन्दै उहाँले आगामी दिनमा पनि महानगरको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो नेपालको रेडियो प्रसार सेवा विकास समिति अन्तर्गत रहेको तारिणिप्रसाद कोइराला सञ्चारग्रामबाट शुक्रबारबाटै विराटनगर महानगरपालिकाले महानगर एफ.एम. सञ्चालन आरम्भ गरेको छ । मन्त्री कार्कीले महानगर एफ.एम.को उदघाटन गर्नुभयो । विराटनगर महानगरपालिकाले उपलब्ध गराएको ६ कठ्ठा १८ धुर जग्गामा रेडियो नेपालले २० करोड रुपियाँको लगानीमा आधुनिक भवन निर्माण गरी सञ्चारसम्बद्ध विभिन्न काम गर्न तथा व्यवस्थित सूचना केन्द्रको रुपमा प्रयोग गर्न भवन निर्माण गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सञ्चारग्राम बन्नु मात्र ठूलो कुरा नभएको बरु उद्देश्यअनुरुप अगाडि बढ्न महत्वपूर्ण हुने बताउनुभयो । व्यवस्थित सूचना प्रवाह गर्न, सञ्चारकर्मीको क्षमता विकास गर्न पनि सञ्चारग्राम महत्वपूर्ण रहेको बताउनुभयो ।
पूर्व सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले परिवर्तनको आन्दोलनमा बहुप्रतिभाशाली व्यक्तित्व तारिणीप्रसाद कोइरालाको स्मृतिमा सञ्चारग्राम निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?