logo
२०८१ मंसिर ७ शुक्रवार



भुजुङमा ८५ लाखमा बन्यो गुरुङ संग्राहलय

राष्ट्रिय |


भुजुङमा ८५ लाखमा बन्यो गुरुङ संग्राहलय
लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङमा निर्माण गरिएको गुरुङ संग्राहलय।


बेलिना थापा

लमजुङ, चैत १९ गते। लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङमा पर्यटन प्रवद्र्धनका लागि गुरुङ संग्राहलय निर्माण गरिएको छ। गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै गुरुङ संग्राहलय निर्माण गरिएको स्थानीयले बताएका छन्। संग्राहलय निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार पर्यटकलाई आकर्षित गराउन संग्राहलय निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकार, वडा कार्यालय, एक जर्मनी र एक जापनिज नागरिकको सहयोगमा संग्राहलय निर्माण भएको बताउनुभयो।

८५ लाख २१ हजार ४०० रुपियाँमा संग्राहलय निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको ३० लाख रुपियाँ, वडा कार्यालयको २१ लाख रुपियाँ, एक्याप कार्यालयको ८ लाख ५० हजार, जर्मनी नागरिक क्याट्रीन बकनेटको १२ लाख ५० हजार र जापानिज नागरिक मासा हिरो नगवाको २ लाख सहयोगमा निर्माण भएको हो। स्थानीयले पनि श्रमदान गरेका छन्। २०७५ सालबाट निर्माण थालिएको भवन अहिले निर्माण सम्पन्न भएको हो।

७ आना जग्गा खरिद गरेर संग्राहलय निर्माण गरिएको हो। २ तले संग्राहलयमा गुरुङ समुदायको जन्मदेखि मृत्युसम्म प्रयोग गरिने सामान राखिने छ। अध्यक्ष गुरुङका अनुसार पुख्यौंदेखि गुरुङ समुदायले प्रयोग गर्ने भाँडाकुडा, हस्तकलाका सामग्री, कपडा, दैनिक प्रयोग गर्ने सामग्री, विभिन्न नाँचमा प्रयोग गर्ने सामग्री राखिने छ। गाउँमा उपलब्ध भएको सबै सामान राखिने तयारी गरिएको छ। गाउँमा नपाएका सामग्री अन्य ठाउँमा खोजेर भएपनि राखिने बताउनुभयो। वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार गुरुङ जातिको बाहुल्यता रहेको गाउँमा गुरुङ संग्राहलय निर्माण गर्न आवश्यक भएकाले सहयोग गरिएको बताउनुभयो। गुरुङ जातिको पहिचान झल्कने खालको संग्राहलय निर्माण गरेर पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले वडाले सहयोग गरेको उहाँले बताउनुभयो।

नवनिर्मित संग्राहलयको उद्घाटन गर्दै क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले संग्राहलयले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो। पर्यटकीय गतिविधि बढाउन संग्राहलयको महत्व रहेको बताउनुभयो। धेरै भन्दा धेरै पर्यटक भित्र्याएर समृद्धितर्फ लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा क्व्होलासोंथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङ, वडा नम्बर ४ का अध्यक्ष खिमबहादुर गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, लालीगुराँस युवा क्लबका संस्थापक अध्यक्ष रामबहादुर गुरुङ, त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङ, युम्बु विकास आमा समूहका अध्यक्ष आसकुमारी गुरुङ, भुजुङ स्वास्थ्यचौकीका निमित्त प्रमुख चिजकुमारी गुरुङ, रितिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङ, क्व्होलासोंथर गाउँपालिका इन्जिनियर प्रकाश शेरचन, स्वास्थ्य शाखा संयोजक पशुपति सुनारलगायतको उपस्थिति थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?