logo
२०८१ बैशाख ८ शनिवार



भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु

राष्ट्रिय |
प्रदेश |


भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु


बाबुराम देवकोटा
दुधौली (सिन्धुली), चैत २० गते । राष्ट्रिय भुमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको छ । दुधौली नगरपालिका –९ दोकानडाँडामा आईतबार आयोजित एक कार्यक्रममा भुमि व्यवस्था तथा सहरी विकास मन्त्री शशी श्रेष्ठले १०६ घर परिवार मुसहर परिवारलाई भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गर्नुभयो ।

देशमै पहिलो पटक सिन्धुली जिल्लाबाट राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको उहाँले बताउनुभयो । सरकारले भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने अभियानमा जुटेको उहाँको भनाई छ ।

‘आगामी एक बर्षभित्र गाँउ ब्लकको जग्गा नाप्ने र पुर्जा पनि बितरण गरिने छ । अहिले सिन्धुली जिल्लाबाट सुरु भएको छ’ उहाँले भन्नुभयो । गठबन्धन सरकारको पहिलो प्राथमिकता संविधानको रक्षा गर्नु भएको चर्चा गर्दै संविधानले दिएको अधिकारस्वरुप भुमिहिन मुसहर समुदायले जग्गाधनी पुर्जा प्राप्त गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय भुमि आयोगका अध्यक्ष केसब निरौलाले आयोगले पहिलो प्राथमिकता दिएर भुहिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण सुरु गरेको बताउनुभयो । राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष महेन्द्र खड्काले अहिले दिएको जग्गाधनी पुर्जाको जग्गा १० बर्षसम्म बिक्री गर्न नपाईने बताउनुभयो ।

भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिब रामप्रसाद थपलियाले पहिलेको आयोग र अहिलेको आयोगको काममा धेरै फरक आएको र आयोगको कार्यविधिमा कमिकमजोरी पाएमा आगामी दिनमा सच्याएर अघि बढ्ने बताउनुभयो ।

दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्घीय सांसद गणेश पहाडी, बागमती प्रदेश सांसद प्रदिप कटुवाल, पूर्व सांसद गंगा नेपाल र नेपाली काँग्रेसका नेता गोबिन्द पहाडीले धारणा राखनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?