काठमाडौं, चैत २१ गते । गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक लालबहादुर ऐरीले आज पद बहाल गर्नुभएको छ । उहाँलाई नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।
सो अवसरमा उहाँलाई संस्थानमा स्वागत गर्दै संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखपत्र संस्थानले अर्को एक व्यावसायिक र युवा सहयात्री पाएको र उहाँसँग मिलेर गोरखापत्र संस्थानको सुधारमा लाग्ने बताउनुभयो ।
स्वागतका क्रममा उहाँले भन्नुभयो, ''विगतमा अध्यक्ष र महाप्रबन्धकबीच कतिपय अवस्थामा असमझदारी भएको इतिहास रहेछ तर हामी त्यस्तो अवस्था आउन दिनेछैनौं ।''
सोही अवसरमा नवनियुक्त महाप्रबन्धक ऐरीले देशको इतिहास बोकेको र धेरै अनुभवी जनशक्ति भएको गोरखापत्र संस्थानमा कार्यरत सबैलाई आफ्नो संस्थाप्रति गर्व गर्न लायक बनाउन आफू लागिपर्ने बताउनुभयो ।
उहाँले विगतमा आफूले गोरखापत्रमा काम गर्ने सोच बनाएको उल्लेख गर्दै अहिले महाप्रबन्धक जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्न सफल भएको र गोरखापत्रको सुधारमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा गोरखापत्र संस्थानका निमित्त प्रबन्धक ओमप्रकाश भुसालले गोरखापत्र संस्थानको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।