logo
२०८० चैत्र १६ शुक्रवार



गाउँठाउँमै सेवा पाउने भएपछि गौशालाबासी खुशी

राष्ट्रिय |
प्रदेश |


गाउँठाउँमै सेवा पाउने भएपछि गौशालाबासी खुशी


नागेन्द्रकुमार कर्ण
महोत्तरी, चैत २१ गते । महोत्तरी जिल्लाको पश्चिमवर्ती स्थानीय तहका वासिन्दा जग्गा सम्बन्धी सेवा आफ्नै ठाउँमा पाउने भएपछि खुशी भएका छन् । यसअघि जग्गा सम्बन्धी सानो कामका लागि ३० किलोमिटरभन्दा टाढाको दुरीमा रहेको सदरमुकाम आउनुपर्ने वाध्यता थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नापी र मालपोत कार्यालयको उदघाटन गर्नुभयो । अध्यक्ष दाहालले जनताको घरदैलोमै सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले गौशालामा कार्यालय सञ्चालन गरिएको बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोवास गर्ने मानिसलाई व्यवस्थित गर्न आफु अगाडी बढेर काम गरिरहेको बताउनुभयो । चार महिनामा मात्रै २० हजारभन्दा बढी भूमिहिनलाई लालपुर्जा वितरण गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

‘कोही पनि नदोहोरियोस् र कोही पनि नछुटोस’ नाराकासाथ वास्तविक सुकुम्बासीलाई जग्गाको मालिक बनाउने कार्य भइरहेको उहाँले बताउनुभयो । सही व्यक्तिलाई सही ठाउँमा ल्याउने हो भने काम गर्न कठिनाई नहुने उहाँको भनाई छ ।

सोनमा गाउँपालिकाका नरेश यादवले आफ्नै ठाउँमा सेवा आएपछि पैसा र समय दुवै वचत हुने बताउनुभयो । कार्यालयमा समय बढी लागेपनि घर फर्किन कुनै समस्या नहुने उहाँको भनाई छ ।

आन्तरिक मामिला तथा प्रदेश सञ्चारमन्त्री भरतप्रसाद साहले लामो समयको पर्खाइपछि गौशालामा आफ्नै प्रशासनिक भवन र मालपोत तथा नापी कार्यालयको स्थापनाले जनसमुदायमा प्रसन्नता छाएको बताउनुभयो ।
गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले लामो समयदेखिको प्रयासपछि गौशालामा नापी र मालपोत कार्यालय स्थापना भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?