logo
२०८१ बैशाख १५ शनिवार



सम्मानजनक ढङ्गले सिट बाँडफाँड हुनुपर्छ : नेता भट्टराई

राष्ट्रिय |
प्रदेश |


सम्मानजनक ढङ्गले सिट बाँडफाँड हुनुपर्छ : नेता भट्टराई


लक्ष्मण पौडेल
भैरहवा, चैत २१ गते । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको छ । सिट बाँडफाँडमा भेदभाव गरिए आफ्नो दललाई स्वीकार्य नहुने उहाँले चेतावनी दिनुभयो ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनको नतीजाका आधारमा सिट बाँडफाँड अमान्य हुने उहाँको भनाई छ । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताउनुभएको हो । “२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन” उहाँले भन्नुभयो ।

अघिल्लो स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने भट्टराईको भनाई छ ।

“हाम्रो दल २०७८ सालमा बनेको हो, त्यसैले २०७४ सालको सिट संख्या हामीलाई मान्य हुँदैन” उहाँले भन्नुभयो । आफूहरुले संविधान र व्यवस्था बचाउने उद्देश्यले गठबनधन गरेको भन्दै पेल्न खोजिए गठबन्धन तोड्ने चेतावनी पनि दिनुभयो । “चुनामा तालमेल गर्ने हो भने सम्मानजनक सिट चाहिन्छ, नभए पेलेर अघि बढ्न खोज्ने हो भने गठबन्धनको विकल्प खोज्छौं” भट्टराईले भन्नुभयो ।

आफ्नो दल भविष्यमुखी भएर जन्मेको दावी गर्नुभयो । “हामी वर्तमानमा होइन, भविष्यमा विश्वास गर्छौ, भविष्यमुखी भएर नै हाम्रो दल जन्मेको हो” उहाँले भन्नुभयो । सिंहदरबारमा रहेको भ्रष्टाचार सातै प्रदेश र गाउँसम्म पुगेको भन्दै भट्टराईले अन्त्यका लागि पुराना पार्टीको विकल्प खोज्नुपर्ने बताउनुभयो । “पुराना दलले चुनाव जितेकाले भ्रष्टाचार बढेको हो, अहिले गाउँ र सिंहदरबार जतासुकै भ्रष्टाचार व्याप्त छ, यसका लागि नयाँ दललाई चुनावमा जिताउनुपर्छ” उहाँले भन्नुभयो ।

भ्रष्टाचार रोक्न र संविधानको अपूर्णतालाई पूर्ण बनाउन संविधान संशोधन अपरिहार्य रहेको भट्टराईले बताउनुभयो । राजनीतिक स्थिरता र सुशासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक संसदको व्यवस्थामा जानुपर्ने उहाँले सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?