लक्ष्मी चौधरी
जनकपुरधाम, चैत २२ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसमक्ष जनकपुर उद्योग वाणिज्य सङ्घले मालवाहक बोगीको व्यवस्था गर्न ज्ञापनपत्र बुझएको छ ।
जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घद्वारा सोमबार आयोजित सम्मान कार्यक्रममा भौतिक पूर्वाधार यातायानमन्त्री यादवसमक्ष भारतमा मालसामान आयात निर्यात गर्न मालवाहक बोगी व्यवस्था मिलाउन सङ्घले ज्ञापनपत्र बुझाएको हो ।
उक्त सम्मान कार्यक्रममा ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले,‘एक वर्षभित्र रेल चलाउने प्रतिबद्धता जाहेर गरेकोमा ६ महिनाभित्र रेल सञ्चालनमा आएको छ, त्यस्तै मालवाहक बोगीको समेत आवश्यकता रहेको महसुस भएरहेको बताउनुहुँदै भन्सार व्यवस्था मिलाइसकेपछि मालवाहक बोगी सञ्चालन हुने बताउनुभयो । रेल सञ्चानलले ससाना व्यापारीलाई उत्साहित बनाई रोजगार सिर्जनाको बाटो खुलेको उहाँले बताउनुभयो ।
रेल सञ्चालन गर्नुमात्र हाम्रो जिम्मेवारी नभएर, त्यसलाई व्यवस्थित गरी सुरक्षित राख्नु पनि तपाई हाम्रो जिम्मेवारीभित्र पर्छ, मन्त्री यादवले भन्नुभयो ।
यस्तै सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठले रेलमार्गबाट ढुवानी खर्च न्यूनतम लाग्ने भएकोले तत्काल न्यूनतम १५ थान मालवाहक बोगीको व्यवस्था मिलाइदिनुहुन मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
रेलमार्गबाट ढुवानी कम गर्न गए उपभोक्तासमक्ष कम दाममा सामान पुग्ने बताउनुभयो । चैत १९ गते रेल सेवाको उद्घाटन भएको थियो । आइतबारदेखि यात्रुसहित रेल सञ्चालन भएको छ र प्रत्येक दिन यात्रुले भरिभराउ रेल हुने गरेको छ ।