logo
२०८१ बैशाख ७ शुक्रवार



मैथिली भाषा सँस्कृतिको उत्थानमा सरकारको ध्यान जानुपर्छ : अध्यक्ष नेपाल

राष्ट्रिय |
प्रदेश |


मैथिली भाषा सँस्कृतिको उत्थानमा सरकारको ध्यान जानुपर्छ : अध्यक्ष नेपाल


धर्बेन्द्र झा
धनुषा, चैत २३ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले मैथिली भाषा सँस्कृतिको उत्थानका लागि तीनवटै तहको सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि शुरु भएको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको उदघाटनसत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।

सवै भाषा सँस्कृतिको सम्मान हुनु पर्ने भन्दै एकले अर्काको सम्मान गर्ने वातावरणको निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले विदेह सभ्यताको पाँचसय वर्षको ईतिहास रहेको चर्चा गर्दै यस प्रकारको महोत्सवको आयोजना गर्नु मैथिली भाषा साहित्य र सँस्कृतिको संरक्षणको सवालमा राम्रो कामको शुरुवात भएको बताउनुभयो ।

अध्यक्ष नेपालले नेपाल बहुभाषिक र बहुसाँस्कृतिक देश भएकाले लोकतान्त्रिक वातावरणमा बहस गरेर हामी सबैले देश निर्माणको काममा अघि बढनुपर्ने बताउनुभयो । देशलाई एकताबद्ध बनाएर लैजान लचकताको भावनाको विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री लालवावु राउतले मधेस प्रदेशमा बोलिने हरेक भाषा र सँस्कृतिको सम्मानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेशको विभिन्न भाषा, साहित्य र सँस्कृतिको संरक्षण सम्बद्र्धन र अध्यनका लागि प्रदेश सरकारले प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको उहाँले जानकारी गराउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मैथली भाषा आफैमा समृद्ध भाषा रहेको र यसको संरक्षणका लागि आफनो मन्त्रालय विभिन्न चरणमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरुले मैथिली भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन माग गर्नुभयो । मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादव, नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवसहितका वक्ताले आ—आफनो मन्तव्य राख्नुभएको थियो ।

विभिन्नखालको झाँकी, शोभायात्रासहित उदघाटन गरिएको महोत्सव तीन दिनसम्म चल्ने छ । महोत्सवमा मैथिली भाषा साहित्यको विभिन्न विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?