logo
२०८१ जेष्ठ ३ बिहीवार



जनताको मन जितेर चुनाव जित्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय |


जनताको मन जितेर चुनाव जित्नुपर्छ : अध्यक्ष तिमिल्सिना


नवीन शिशिर विक
बागलुङ, चैत्र २६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको मन जितेर निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको परम्परागत चैत्राष्टमी मेलाको शनिबार उद्घाटनपछि बोल्दै अध्यक्ष तिमिल्सिनाले जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता गलत भएको उल्लेख गर्नुभयो ।

‘जसरी पनि चुनाव जित्नुपर्छ भनेको के हो ?, उहाँले भन्नुभयो, ‘साम, दाम दण्डभेद प्रयोग गरेर निर्वाचित जनप्रतिनिधि जनता प्रति उत्तरदायि हुन सक्दैन ।’ जनताले ढुक्कसँग आफुलाई मनपरेको जनप्रतिनिधि चुन्न पाउने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गर्नुभयो ।

‘चुनाव भनेको लोकतन्त्र हो, जे पनि होइन ।,’ उहाँले थप्नुभयो, ‘लठ्ठी हान्ने, बुथ कब्जा गर्ने, सुरक्षा निकायको आढमा निर्वाचन जित्ने चेष्ट कसैले पनि गर्नुहुन्न ।’ प्रहरी प्रशासनसँगको सेटिङमा निर्वाचन गर्न हुने वातावरणको अन्त्य गरी निष्पक्ष स्वतन्त्र ढङ्गबाट प्रतिनिधि छनोट हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

राजनीतिक अस्थिरता, सत्ता आलोपालो, जनमतको खरिद बिक्री, राजनीतिक भागबण्डा र नियुक्तीमा रमाउने, देशलाई अस्थिरतामा धकेल्ने राजनीतिक दललाई जनताले पराजित गर्नुपर्ने उहाँको भनाइ थियो । योजना, परियोजनाको आधारमा जनप्रतिनिधि छनोट हुनुपर्ने उहाँको भनाइ छ ।

प्रत्येक मतदाताले निर्वाचन जितेपछि तपाईं हाम्रो गाउँ टोल र वडालाई के दिनुहुन्छ भनेर प्रश्न गर्न आग्रह गर्नुभयो । प्रत्येक नागरिकले उम्मेदवारलाई प्रश्न गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । देशको विकास निर्माण र आर्थिक समृद्धिको स्पष्ट योजना भएको प्रतिनिधि छनोट गर्नुपर्ने मत थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?