logo
२०८१ बैशाख २२ शनिवार



सही सूचनाले निर्वाचन स्वच्छ र निष्पक्ष : सभामुख सापकोटा

राष्ट्रिय |


सही सूचनाले निर्वाचन स्वच्छ र निष्पक्ष : सभामुख सापकोटा


गोरखापत्र अनलाइन
काठमाडौँ, चैत २८ गते । सभामुख अग्निप्रसाद सापकोटाले सही सूचना प्रवाहले निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताउनुभएको छ । उहाँले देश र जनताको हितमा काम गर्न सही सूचनाको आवश्यकता पर्ने, जति धेरै पारदर्शी हुन सक्यो त्यति उत्तरदायी बनाउन सकिने, सूचनाको हक कार्यान्वयनमा आयोग गम्भीरतापूर्वक लाग्नेमा आफू विश्वस्त भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले मतदाताले सही सूचना प्राप्त गरे मात्र निर्वाचनको निष्पक्षता रहने कुरालाई मध्यनजर गरी ‘निर्वाचनको प्रक्रियामा सही सूचना विषयक’ अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले सूचनाको तोडमोड अन्य बेलाभन्दा निर्वाचनको बेला बढी हुने सम्भावना रहन्छ, सामाजिक सञ्जालको सही प्रयोगबाट मात्र सही सूचना प्रवाह हुन सक्ने, सूचनको हक राजनीतिक दललाई पनि सार्वजनिक निकायको रुपमा लिएको गलत सूचना प्रवाहले समाजमा हिंसासमेत उत्पन्न हुन सक्ने बताउनुभयो ।

प्रमुख सूचना आयुक्त गुरुङ्गले आचार संहितामा निर्वाचन आयोगको मात्र भूमिका हुने नभई सम्बन्धित सबैको उत्तिकै भूमिका र जिम्मेवार रहने हुँदा सबैले मतदातासमक्ष सही सूचना सम्प्रेषण गर्न आवश्यक छ, भन्नुभयो । कार्यक्रमको अवधिमा भ्रामक सूचना र निर्वाचनमा पर्ने प्रभाव विषयमा विज्ञ टंक अर्यालले कार्यपत्र प्रस्तुतिको क्रममा परिवर्तित प्रविधिको विकाससँगै सूचनाको उपभोग बढ्दै गएकाले निर्वाचनमा बढी प्रभाव पार्ने बताउनुभयो ।

उहाँले गलत सूचना भिन्न प्रकारतर्फ आकर्षक हुने हुँदा त्यस्ता छिटो फैलिने तथ्य प्रस्तुत गर्दै आयोगले हुँदा करिब ३७ प्रतिशत व्यक्तिमा यसले प्रभाव पारेको सर्वेक्षणबाट देखिएको पनि बताउनुभयो । निर्वाचनको क्रममा गलत सूचना प्रवाह हुँदा मतदातालाई भ्रमित पार्ने खतरा औँल्याउँदै हालै लागू भएको निर्वाचन आचार संहितामा केही थप-संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन आयोगको वेवसाइट, फेसबुक पेज र टिवटर अकाउन्ट अद्यावधिक हुनुपर्नेजस्ता सुझाव विज्ञ अर्यालले राख्नुभयो ।

संविधान तथा कानूनविद काशिराज दाहालले निर्वाचनमा राज्यको दायित्व, निर्वाचनमा हुने अनुत्पादक खर्चले गर्दा यसको प्रभाव राज्यका ३ वटै अंगमा पर्नसक्ने बताउनुभयो । सूचनाको हकबाट नागरिक नियन्त्रित सरकारको विकास हुने बताउँदै दाहालले गलत सूचना प्रवाह गर्दा हुने सजाय र क्षतिपूर्तिबारे विद्यमान कानूनमा रहेको व्यवस्थाबारे प्रकाश पार्नुभयो ।

उहाँले मतदाता शिक्षा निरन्तर निर्वाचन आयोग र अन्य सम्बन्धित निकायको ध्यान जानुपर्ने, निर्वाचनमा हुने खर्चको स्रोतको सार्वजनिकीकरण हुनुपर्ने, कानून सरलीकृत हुनुपर्ने, निर्वाचन सञ्चालन गर्नका लागि (पर्यवेक्षक) को निष्पक्षता, आचार संहिता सही पालनाबाट मात्र निर्वाचन परिणाम स्वच्छ र निष्पक्ष हुने विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।

राजनीतिमा सक्रिय महिलाविरुद्ध हुने हिंसा (मिडिया निगरानी) पानोस साउथ एसियाका दिपक अधिकारीले प्रस्तुतिको क्रममा राजनीतिमा सक्रिय महिलाविरुद्ध परम्परागत र सामाजिक सञ्जालमा हुने भ्रामक समाचार र यसबाट पर्न सक्ने प्रभाव बारेको अध्ययनको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

लैङ्गिक दृष्टिकोणबाट महिला राजनीतिककर्मीको सूचनामा बढी घृणित शब्दावलीको प्रयोग हुने गरेको, अपमानजनक भनाइ, इज्जतका प्रश्न उठाउने, भौतिक आक्रमणको धम्कीजस्ता विषयमा पुरुषको भन्दा महिलाका सम्बन्धमा सामाजिक सञ्जालमा बढी हुने गरेको पाइएको छ । आयोग सचिव भागिरथ पाण्डेले निर्वाचन प्रक्रियामा नागरिकले स्वतन्त्र निर्णयबाट उम्मेदवार छनौट गर्न सूचनाको महत्वपूर्ण भूमिका रहन्छ भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?