logo
२०८१ बैशाख २१ शुक्रवार



बालबालिकासँग ‘मुना’ को वार्षिकोत्सव : बालबालिकालाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता

राष्ट्रिय |


बालबालिकासँग ‘मुना’ को वार्षिकोत्सव : बालबालिकालाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बालबालिका संवादको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रेम थापा


सन्तोष सुवेदी
कास्की, चैत २८ गते । गोरखापत्र संस्थानको मासिक प्रकाशन ‘मुना’ मासिकको ३२ औं वार्षिकोत्सव सोमबार सुन्दर नगरी पोखरामा मनाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बालबालिका संवाद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य र प्राकृतिक चिन्तन फेवाताललगायतको विषयमा प्रदेशको सरकारको भूमिका बारेमा मुख्यमन्त्रीसँग प्रश्न गरेका थिए । मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार सम्भावना बोकेको प्रदेश भएकाले पर्यटन, कृषि, उद्योगको क्षेत्रमा नियम कानुन निर्माण हुँदै आएको बताउनुभयो । उहाँले बालबालिकाको उचित शिक्षा, स्वास्थ्य, पोषणलगायतमा आगामी बजेटमा समावेश गरी बालबालिका मैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यहाँका बालबालिकालाई गुणस्तरको शिक्षा दिनका लागि कटिबद्ध लागि परेका छौं । प्रदेश प्रमुख शिक्षा कार्यक्रममार्फत पनि बालबालिकाहरुले प्राविधिक कुरामा ज्ञान हासिल गर्न सक्नेछन् ।’’ उहाँले आफू सरकारमा आएपछि प्रदेशबासीहरुका लागि निःशुल्क रगतको व्यवस्था मिलाएको बताउनुभयो । ज्येष्ठ नागरिकहरुका लागि दिवासेवा र सरकारी अस्पतालहरुबाट पनि निःशुल्क स्वास्थ्य सेवा लिने व्यवस्था मिलाएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो प्रदेशमा कोही अभिभावकविहीन भएर बस्नु पर्दैन । मानवसेवा आश्रममा बालबालिकाहरुलाई उचित व्यवस्था हुँदै आएको छ ।’’ विकास निर्माणको सन्दर्भमा पहिलाको सरकारले गरेका कामलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जबसम्म बालबालिकाहरुलाई उचित शिक्षा दिन सकिँदैन तबसम्म समाज परिवर्तन गर्न नसकिने बताउनुभयो । उहाँले शिक्षाले हर समस्या समाधान गर्न सकिने हुँदा उत्पादनसँग जोडेर आत्मनिर्भर हुन बालबालिकाहरुलाई प्रेरित गर्नुपर्ने जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मुना पत्रिकाबाट बालबालिकाहरुले उपयोगी ज्ञान हासिल गर्न सकेका छन् । यसलाई गाउँगाउँका विद्यालयहरुमा पु-याएर लुकेको प्रतिभालाई बाहिर ल्याउने काम गर्न आग्रह गर्दछु ।’’

 

नेपाली लेखक संघका अध्यक्ष एवम् साहित्यकार तीर्थ श्रेष्ठले आजका बालबालिका भोलिका दिनमा मुलुक धान्न सक्ने बनाउनका लागि अभिभावक र शिक्षकको भूमिका रहन्छ भन्नुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पोखराका प्रतिभाशाली मुनाहरुसँग वार्षिकोत्सव मनाउन पाउँदा खुशी लागेको छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिलेका सन्तती निकै प्रतिभावान् छन् । सामाजिक रुपान्तरण र समृद्धिका विषयमा चासो दिन थाल्नु भनेको बच्चाहरुमा हुनुपर्ने अद्भूत गुण हो । तीनै मुनाहरुको प्रतिभा समेट्दै थप परिमार्जित गर्दै डिजिटल प्रविधिमार्फत पनि ल्याउने तयारीमा छौं ।’’

उहाँले गोरखापत्र पत्रिका मात्र नभएर सिंगो युगको प्रतिनिधित्व गरेको बताउनुभयो । विभिन्न आरोह, अवरोध खप्दै यहाँसम्म आइपुग्नु ठूलो चुनौती रहेको उहाँले जनाउनुभयो । यसैगरी, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बालबालिकाको क्षमता वृद्धि गर्न निरन्तर मुना प्रकाशन हुँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मुना पत्रिकाको गतिविधि काठमाडौंमा मात्र नभएर मौफसलमा पनि साझेदारी हुनुपर्छ भन्ने मान्यताले प्रदेश सरकार र पोखरासँग जोडिन आएका हौं ।’’ उहाँले पत्रिका डिजाइन, सामग्रीहरु, नयाँ परिवेशमा छिट्टै ल्याउने सुनाउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले मुना पत्रिका सबैको लोकप्रिय बनेकाले अझै परिस्कृत गर्दै पछिल्लो पुस्तालाई पनि समावेश गर्ने खालका सामग्रीहरु राख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा पहिलो सत्र मुना संवादमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले बालबालिकाबाट माग भएको खण्डमा अन्य भाषामा पनि मुना पत्रिका निकालिने बताउनुभयो । उहाँले पोखरामा अध्यनरत विद्यार्थीलाई मुनामा आफ्ना रचना पठाउन आग्रह गर्नुभयो ।

मुना पत्रिकाका सम्पादक हरिप्रसाद भट्टराईले बालबालिकाको प्रतिभा प्रस्फुटन होस् भन्ने उद्देश्यले मुना प्रकाशनमा ल्याएको बताउनुभयो । उहाँले अब दुर्गम ठाउँमा पनि मुना पु-याउने प्रयास भइरहेको जानकारी दिनुभयो । मुनाको ३२औँ वार्षिकोत्सवको अवसरमा ‘मुना दूत’ घोषणा गरिएको थियो ।

पोखराको गण्डकी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत प्रेन्सा रेग्मीलाई गण्डकी प्रदेशका लागि मुना दूत घोषणा गरी सम्मान गरिएको थियो । मुनाको ३२ औं वार्षिकोत्सवको अवसरमा ‘मुना दूत घोषणा’ गरिएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?