logo
२०८१ बैशाख २२ शनिवार



‘निजी क्षेत्र महत्त्वपूर्ण’

अर्थ |


‘निजी क्षेत्र महत्त्वपूर्ण’


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २९ गते । सभामुख अग्निप्रसाद सापकोटाले मुलुकको अर्थतन्त्रका लागि निजी क्षेत्र महत्त्वपूर्ण आधार भएकाले बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५६औँ वार्षिक साधारण सभाको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्रको सहभागिताबिना आर्थिक विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयो ।

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य जरुरी हुनेमा जोड दिनुहुँदै सभामुख सापकोटाले राष्ट्रका लागि निजी क्षेत्रको महत्त्वपूर्ण योगदान हुने भएकाले यस क्षेत्रको आवाजलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ भन्नुभयो ।कार्यक्रममा सभामुख सापकोटाले कोरोना महाव्याधिले सङ्कट ल्याए पनि त्यसको समाधानका लागि सबैको सामूहिक प्रयास जरुरी हुने बताउनुभयो । सङ्कटले अवसर पनि ल्याउने हुनाले त्यसको सदुपयोगमा निजी क्षेत्र लाग्नुपर्ने उहाँको सुझाव थियो ।

मुलुकका सामु ऐतिहासिक जिम्मेवारी आएकाले विकासका लागि सबैले निष्ठा र इमानका साथ काम गर्नुपर्ने उहाँले बताउनुभयो । आर्थिक समृद्धि र निजी क्षेत्रको सक्रियताका लागि गुणस्तरीय कानुन बढी महत्त्वपूर्ण हुने चर्चा गर्दै सभामुख सापकोटाले भन्नुभयो, “गुणस्तरीय कानुन र त्यसको ठीक ढङ्गले कार्यान्वयन महत्त्वपूर्ण विषय हो । ”

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीले अर्थतन्त्रमा देखिएको विद्यमान अवस्थालाई चिर्नुपर्ने अवस्थामा मुलुक रहेको बताउनुभयो । पर्यटक बढाउनेदेखि औपचारिक प्रणालीबाट विपे्रषण भित्र्याउनेजस्ता काम गर्नुपर्ने जिम्मेवारी सरकारलाई रहेको उहाँले बताउनुभयो ।

अर्थतन्त्रको अहिलेको समस्यालाई समाधान गर्न उत्पादन लागत घटाउनैपर्ने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “उत्पादन लागत नघटाएसम्म हामी विश्वबजारमा प्रतिस्पर्धी हुन सक्दैनौँ । ” प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको जलस्रोत क्षेत्रका लागि नयाँ सम्भावनाको ढोका खुला भएकाले यसको सदुपयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले प्रक्रिया सहज भए निजी क्षेत्र लगानीका लागि तयार रहेको बताउनुभयो । नीतिगत अलमलकै कारण अर्थतन्त्रमा बारम्बार समस्या देखिएकाले त्यसको दीर्घकालीन समाधान हुनुपर्ने उहाँको भनाइ थियो । निजी क्षेत्रलाई राजस्वको स्रोत मानिए पनि विकासको साझेदार नमानिएकामा उहाँको गुनासो थियो ।

मुलुक श्रीलङ्काजस्तो दिशामा गएको हल्ला भए पनि अहिले परिस्थिति त्यस्तो नरहेको तर समाधान गर्ने प्रयास नगर्ने सङ्कट निम्तिन सक्नेतर्फ उहाँको सङ्केत थियो ।महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका रहेकाले जनसाङ्ख्यिक लाभ रहेको बताउनुभयो । यद्यपि यसको उपयोग हुन नसके भविष्यमा झन् बढी कठिन परिस्थिति आउने उहाँको भनाइ थियो । त्यस्तै उहाँले निजी क्षेत्रलाई यो अवसरको सदुपयोग गर्ने वातावरण तयार गरिदिन सरकारसमक्ष आग्रह पनि गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?