logo
२०७९ मंसिर १९ सोमवार



इन्द्रमाया कुसुण्डाको नगरपालिकामा जागिर खाने धोको अधुरै

राष्ट्रिय |
समाज |


इन्द्रमाया कुसुण्डाको नगरपालिकामा जागिर खाने धोको अधुरै



अमरराज नहर्की
तनहुँ, चैत्र २९ गते । आम्दानी नहुँदा जीवन धान्न कठिन भएपछि लोपोन्मुख कुसुण्डा जातिका तनहुँका एक मात्र परिवारले सरकारी जागिरको माग गरेका छन् । नगरपालिका–१० डिहीगाउँ बस्ने इन्द्रमाया कुसुण्डाले जागिरको माग गर्नुभएको हो ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई भेट इन्द्रमायाले गरी जग्गा थोरै भएकोले खेतीपाती गर्न नपाएको जागिर नहुँदा आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको दुःखेसो पोख्नुभयो । जागिर भए बिरामी हुँदा औषधिमुलो गर्न, साँझ बिहान हातमुख जोड्न सहज हुने इन्द्रमायाको भनाइ छ ।

‘पढेलेखेकी छैन, सरसफाइ सम्बन्धी जागिर भए पनि हुन्छ छोरी बिरामी भइरहने भएकाले उपचार गर्न कठिन भएको छ र बिहान र बेलुका खानलाई समस्या छ’ इन्द्रमायाले भन्नुभयो । जीवन सहज रुपमा यापन गर्नको लागि सरकारी जागिर खान इच्छुक रहेको इन्द्रमायाले गोरखापत्रसँग भन्नुभयो ।

श्रीमान् राजामामाको २०७५ साल वैशाख ५ गते निधन भएपछि नै जीवन काट्न कठिन भएको उहाँले जानकारी दिनुभयो । राजमामा हुँदा उहाँले ज्यालादारी गरेर पैसा ल्याउने र भेट्न मान्छेहरु आइरहने र सहयोग पनि प्राप्त भइरहने हुँदा सहज भएकोमा हाल आम्दानी नभएकाले समस्या परेको इन्द्रमाया बताउनुहुन्छ । उहाँले सरकारी निकायमा पियन पदमा भए पनि जागिर खाने इच्छा रहेको बताउनुभयो ।

इन्द्रमायालाई नगरपालिकाले जागिर दिलाउन प्रयास गर्ने प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । ‘म त सकारात्मक भएँ, मेरो बलबुताले भ्याएसँग जागिर दिलाउने कोसिश गर्छु’ सिग्देलले भन्नुभयो । मागको आधारमा योजना बनाइने र इन्द्रमायाको चाहनानुसारको कदम चाल्ने उहाँले बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय परिषद् तनहुँको अध्यक्ष वसुन्धरा घर्तीले इन्द्रमायालाई सरकारी जागिर प्रदान गर्नुपर्ने बताउनुभयो । लोपोन्मूख जातिको संरक्षणमा सहयोग पुग्ने भएको पनि उहाँलाई जागिर दिनुपर्ने माग राखेर व्यास नगरपालिकामा धेरै पटक माग राखेको भए पनि पूरा नभएको बताउनुभयो । जङ्गलका राजा भनेर चिनिने राउटेहरुले सरकारी जागिर पाए जस्तै कुसुण्डा पनि जङ्गलको राजा भएकाले जागिर पाउनु पर्ने घर्ती बताउनुहुन्छ ।

राजामामाको एक मात्र छोरी सिमान्त हुनुहुन्छ उहाँ कक्षा ६ मा पढ्नुहुन्छ । सिमान्तको अध्ययनको सबै खर्च नगरपालिकाको तर्फबाट भइरहेको व्यास नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । जागिरको लागि पनि पहलकदमी गरिरहेको उहाँले बताउनुभयो । इन्द्रमाया सरकारी जागिर खाने धोको पूरा नहुँदा दुःख लागेको बताउनुहुन्छ । जङ्ली जनावर शिकार गरेर र वनकै कन्दमूल खाएर जीवनयापन गर्ने भएकाले कुसुण्डा ‘‘जङ्गलका राजा’’ उपनामले चिनिन्थे ।

विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वनविनाश, जीवनयापन गर्न कठिनाइ गैर–प्रजातीय विवाह प्रणालीलगायतको कारणले कुसुण्डाको भाषा र संस्कृति लोप हुँदै गएको घर्तीले जानकारी दिनुभयो । कुुसुण्डा जाति आफ्नो मौलिकतालाई क्रमशः त्यागी समाजमा सम्मिलित हुँदै गएका छन् । यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्ने संस्कार थियो । हाल यो हराएर गएको छ ।

आफूलाई ‘जङ्गलका राजा’ भनेर चिनाउने कुुसुण्डा जातिहरूको जाति नेपालको घुमन्ते जातिमध्येको एक हो । कुसुण्डाले खेतीपाती गर्दैनथे, जङ्गलमै रमाउँथे । वनमा आफ्नो अधिकार भएको ठान्ने गर्थे । इन्द्रमाया र छोरी सीमान्तले लोपोन्मुख जातिका रूपमा मासिक रूपियाँ दुई हजार सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ । तर त्यसले आफ्नो आवश्यकता नपुग्ने इन्द्रमायाको गुनासो छ । कुसुण्डा लोपोन्मुख जातिमा पर्छ ।

तनहुँमा एक घर परिवार मात्रै कुसुण्डा छन् । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालमा कुसुन्डाको जनसङ्या १ सय ७३ छ । इन्द्रमायाको परिवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी तीन कोठे घर निर्माण गरिदिएको घरमा बस्दै आउनुभएको छ । कसुण्डा जातिको संरक्षणको लागि प्रतिष्ठानले नै वि.सं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो ।

कुसुण्डाहरु स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जङ्गलका विभिन्न ठाउँमा बसोबास गर्दथे । जङ्गली रूखविरुवाका ठूल्ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुष वाण, कालिग, गोहोरो, वन कुखुरा, मृग र स्याललगायतको सिकार गर्दथे । वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमुल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे । जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चाहरु मर्ने जस्ता कारणले कुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुण्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?