logo
२०८१ बैशाख १५ शनिवार



सुशासन र समृद्धिका लागि एमाले : अध्यक्ष ओली

राष्ट्रिय |
प्रदेश |


सुशासन र समृद्धिका लागि एमाले : अध्यक्ष ओली


जयकृष्ण यादव
इनरुवा, चैत ३० गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, सुशासन र समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको बताउनुभएको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवामा एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।

देशमा विकास, समृद्धि र सुशासनका लागि एमाले बाहेकको विकल्प नरहेको दावी उहाँले गर्नुभयो । विभिन्न संस्कृति, संस्कार, भाषाभाषी र भूगोलमा बस्ने नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्तानिहीत गर्ने महान् अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको उहाँले चर्चा गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले नेपालमा रेल चलाउने, भुकम्पबाट प्रभावित भएकालाई बस्ने घर, धरहरा, रानीपोखरी, ध्वस्त भएका धार्मिक स्थलहरु र महत्वपूर्ण क्षेत्रको पूनरनिर्माणको काम एमालेले गरेको दावी गर्नुभयो । उहाँले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

फरक प्रसंगमा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकाहरुले स्थानीय आवश्यकतामा आधारित विकास गर्ने भएकाले एमालेका उम्मेदबारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । मुलुकको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने उहाँले बताउनुभयो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले गरेका राम्रा काम जनताका बीचमा राखेर लैजानुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कैयौ अस्पातलहरुको सिलान्यास एकसाथ गरिएको, कयौ जिल्ला सदरमुकामदेखि पालिकासम्म जोड्ने सडक कालोपत्रे गर्न शिलान्यास गरेका छौं, त्यसको निरन्तरताको खाँचो छ ।’ ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको स्मरण गर्नुभयो ।

२०५१ बाट एमाले सरकारका पालामा मासिक १०० रुपियाँले सुरु गरिएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले मासिक ४ हजार पुगेको उहाँले चर्चा गर्नुभयो । आफू नेतृत्वको पालामा कर्मचारीको तलब बृद्धि समेत गरेको बताउनुभयो ।

एमाले सुनसरीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका जिल्ला सदस्य तथा भोक्राहा नरसिंह गाउँपालिकाका निर्वाचित अध्यक्ष महेन्द्रप्रसाद यादवसहित विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?