logo
२०८१ बैशाख १५ शनिवार



राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक

राष्ट्रिय |
प्रदेश |


राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक


छवि पाण्डे
बुटवल, चैत ३० गते । राष्ट्रिय जनमोर्चाले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गरेको छ । पार्टीले बुटवलमा पत्रकार सम्मेलन गरी सो घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष चित्रवहादुर केसीले गणतन्त्र र राष्ट्रियताको रक्षा सहित २८ बुँदे घोषणापत्र सार्वजनिक गरिएको बताउनुभयो । अध्यक्ष केसीले एमसीसीमा आफूहरुको असहमति रहेपनि स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने नीति अपनाएको बताउनुभयो ।

घोषणापत्रमा जनमोर्चाले स्थानीय तहको निर्वाचनमा विभिन्न २८ प्रकारका विकासका कामलाई प्राथमिकतामा राख्ने उल्लेख गरेको बताएको छ । घोषणापत्रमा स्थानीय तहमा बढ्दो बेरूजु न्युनीकरण गर्दै स्वशासनमा जोड दिइने बताएको छ । त्यसैगरी एकीकृत बस्ती विकास, भूउपयोग नीति, गाउँ विकासका लागि ग्रामीण विकास मन्त्रालय गठन, छाडा चौपाया नियन्त्रण गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, जनमोर्चाले विपद् व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार तथा साधनस्रोत सम्पन्न बनाइने घोषणापत्रमा उल्लेख गरेको छ । घोषणापत्रमा भ्रष्टाचार रोकथाम, कृषि र कृषिजन्य उद्योगको विकास, स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन, विदेशी आयातमाथि नियन्त्रण, शिक्षा र स्वास्थ्यमा आम सर्वसाधारणको पहुँच बढाउने, सामाजिक विकास क्षेत्रतर्फ अधिकतम बजेट विनियोजन र प्राकृतिक स्रोत साधनको समुचित उपयोगमा ध्यान दिइने जनमोर्चाको प्रतिवद्धता छ ।

जनमोर्चाका महासचिब मनोज भट्टले दक्ष जनशक्ति निर्माण र बेरोजगारी अन्त्यका लागि योजना तर्जुमा गर्ने, यातायात र ढुवानीका लागि रेल तथा सडक सञ्जालको निर्माण र विकासमा जोड दिइने बताउनुभयो । ग्रामीण उद्योगधन्दाको स्थापना गर्ने प्रतिबद्धता पार्टीले गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?