logo
२०८१ जेष्ठ ५ शनिवार



कीर्तिपुरमा पहिलो होमस्टे

खुला |


कीर्तिपुरमा पहिलो होमस्टे


शान्ति लामा

कीर्तिपुर, भदौ १७ गते । कीर्तिपुरको मध्यकालीन बस्तीको टुप्पोमा छ, चिलञ्च्व विहार । चिलञ्च्वको पूर्वी फेदमा जोशी ननी टोल पर्छ । यो टोलबासी यतिबेला होमस्टे सञ्चालनमा जुटेका छन् ।
समुदाय स्तरमा जोशी ननी कम्युनिटी होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष शरद् मङ्गल जोशीले जानकारी दिनुभयो । सम्पूर्ण तयारी लगभग सकेकाले केही दिनमा नै पूर्ण क्षमतासहित सेवा दिन सुरु गरिने उहाँले बताउनुभयो । समुदायले सञ्चालनमा ल्याएको यो कीर्तिपुरकै पहिलो होमस्टे हो ।
कीर्तिपुर वडा नं. १० स्थित जोशी ननी र सिन्ध्वा टोलबासी मिलेर यो सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको हो । अहिलेसम्म १३८ जना टोलबासीले होमस्टेमा साझेदारी गरेका छन् । अहिले एउटा पुरानो घरको १५ कोठाको आवास सुविधासहित सुरु गरिएको होमस्टे विस्तारै टोलका अन्य घरमा पनि विस्तार गरिने अध्यक्ष जोशीले बताउनुभयो । ‘‘अन्य घरमा पनि सरसफाइ गरी पाहुना बस्ने खालका कोठाहरू तयार गर्दै विस्तार गर्नेछौँ,’’ उहाँले भन्नुभयो ।
सरकारले घोषणा गरेको भिजिट नेपाल–२०२० लाई सहयोग पु¥याउने र समुदायको समृद्धिका लागि होमस्टे सञ्चालन गरिएको उहाँले बताउनुभयो । भिजिट नेपाल २०२० मा कीर्तिपुरमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य कीर्तिपुर नगरपालिकाले राखेको छ । नगरको त्यही लक्ष्यलाई समेत यो होमस्टेले सहयोग पुग्ने विश्वास जोशी ननीबासीको छ ।
आफ्नो टोल आफै बनाऔँ भन्ने अवधारणाअनुसार समुदायले यो होमस्टे सञ्चालनमा ल्याएको हो । टोलमा होमस्टेसँगै सुकुल, काष्ठकला जस्ता हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री गरिने सञ्चालकले बताएका छन् । होमस्टे नजिकै चार वटा बहाल, ४२ वटा बौद्ध चैत्य तथा अनगिन्ती मन्दिरजस्ता सांस्कृतिक सम्पदा छन् । ती सम्पदाको संरक्षण, जिर्णाेद्धार, खोजी र प्रचारप्रसार समेत गरिने जोशीले बताउनुभयो ।
होमस्टेमा पाहुनाले मौलिक नेवारी परिकारहरूको स्वाद दिन पाउनेछन् । यसका लागि सिन्ध्वा नेवाः रेस्टुराँ स्थापना गरिएको छ । नेवारी परिकारको प्रवद्र्धनका लागि हरेक महिना एक एकवटा परिकार विशेषको प्रचार गरिने जोशीले बताउनुभयो । भदौ १४ गते ‘चतामरी डे’को रूपमा चतामरी चखाउने कार्यक्रम गरिएको थियो ।
होमस्टेमा नेवाः म्युजियम पनि बनाउने योजना रहेको छ । म्युजियममा मध्यकालीन कीर्तिपुर झल्काउने वस्तुहरू राखिने अध्यक्ष जोशीले बताउनुभयो । हप्ताको एक पटक भने कीर्तिपुरमा प्रचलित विभिन्न लोक गीतसङ्गीत, लोकनृत्य, लोकबाजाको कार्यक्रम गरिने उहाँको भनाइ छ ।
होमस्टेले एकदेखि तीन दिनसम्मको प्याकेज बनाएको छ । एक दिन बस्नेलाई गाइडसहित कीर्तिपुरका सांस्कृतिक सम्पदा क्षेत्रको भ्रमण गराउने व्यवस्था हुनेछ । दुई दिन बस्ने पाहुनालाई मच्छेगाउँ र चोभारसम्म पनि भ्रमणको व्यवस्था गरिने र तीन दिन बस्नेलाई भने दक्षिणकालीसम्मको पर्यटकीय क्षेत्र भ्रमणको अवसर दिइने अध्यक्ष
जोशीले बताउनुभयो ।
कीर्तिपुरमा जोशी समुदाय विगतदेखि नै सामाजिक अगुवाका रूपमा रहँदै आएका छन् । त्यसैले टोलको ठूलो चोकको नाम नै जोशी ननी अर्थात् जोशी चोक रहनगएको अध्यक्ष जोशीले बताउनुभयो । कागज कारखाना, कपडाको तान, काष्ठकलामा पारङ्गत रहेका आफ्ना पुर्खाहरूको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नसमेत यस होमस्टेले सहयोग गर्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?