logo
२०८१ मंसिर ८ शनिवार



वनक्षेत्रमा जंगली जनावरको चोरी सिकारी गर्ने क्रम बढ्दै

प्रायः दैनिकजसो सिकारीले बन्दुक पड्काएको आवाज आउने

खुला |


वनक्षेत्रमा जंगली जनावरको चोरी सिकारी गर्ने क्रम बढ्दै
जंगली जनावर सिकारीले जंगलमा छाडेर गएको भरुवा बन्दुक इलाका प्रहरी कार्यालय सुरुङ्गालाई जिम्मा लगाउँदै सुकुडागी सामुदायिक वन समूहका अध्यक्ष पौड्याललगायत


लीलाराज झापाली
विर्तामोड, भदौ १८ गते । झापा र इलामको सिमा क्षेत्रस्थित उत्तरी चुरे वनक्षेत्रमा जंगली जनावरको चोरी सिकारी गर्ने क्रम बढ्दै गएको छ ।

झापा तथा इलामका पेशेवर सिकारीहरु भरुवा बन्दुक लिएर दिउँसै जंगली हरिण ,बँदेल, कछुवा, मृग, वन कुखुरा लगायतका जंगली जनावरको सिकार गरेर लैजाने गरेको सुकेडागी सामुदायिक वन समूहका अध्यक्ष भक्तबहादुर पौडेलले बताउनुभयो ।

हालै मात्र सुकेडागी सामुदायिक वन र सरस्वती सामुदायिक वन समूहको संयुक्त गस्ती टोलीले दुईथान भरुवा बन्दुकसहित ४ जनाको सङ्ख्यामा रहेका सिकारीको टोलीसँग भेट हुँदा सिकारीले एक थान भरुवा बन्दुक छाडेर भागेको अध्यक्ष पौडेलले बताउनुभयो ।

सो भरुवा बन्दुक इलाका प्रहरी कार्यालय सुरुङ्गामा बुझाइएको छ । सो क्षेत्रमा प्रायः दैनिकजसो सिकारीले बन्दुक पड्काएको आवाज आउने गरेको स्थानीय इन्द्रप्रसाद भट्टराई बताउनुहुन्छ ।

सिकारीहरु हतियारसहित हुने भएकाले जंगलमा घास काट्न जाँदा पनि डराउँदै जानु परेको स्थानीयको भनाई छ ।

कहिलेकाँही सिकारीको आक्रमणमा परी घाइते भएका जंगली जनावर समेत भेटिने गरेको वन समूहका अध्यक्ष पौडेलले बताउनुभयो ।

वन गस्ती टोलीले जंगली जनावरको भन्दा पनि जंगलका रुखहरुको सुरक्षामा ध्यान दिँदा जंगलमा रहेका जनावरको चोरी सिकारीमा भने ध्यान नपुगेकै कारण जंगली जनावर लोप हुन थालेको पाइएको छ ।

केही वर्ष पहिलेसम्म मानिसको करेसाबारीसम्मै आउने बँदेल हाल आंैलामा गर्न सकिने भएको छ ।

सिकारी समूहले जंगली जनावारको सिकार गर्नु शोखसहित बजारमा महंगो दरमा मासु विक्री हुने भएकाले गर्ने गरिएको पाइएको जानकारहरु बताउछन् ।

जिल्ला वनमा समेत वन पैदावरको तुलनामा जंगली वन्यजन्तु चोरी सिकारीमा थोरै मात्रमा मानिसहरु पक्राउ पर्ने गरेको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो ।

झापाको दहिझोडा सामुदायिक वन अर्जुनधारामा ५ वर्ष पहिले हरिण मारेको अभियोगमा २ थान भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गर्नुनै झापामा जंगली जनावर चोरी सिकारीको अभियोगमा पक्राउ परेको हालसम्मकै ठुलो सङ्ख्या रहेको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो ।

यस वाहेक आर्थिक वर्ष २०७३/०७४ मा ३ जना , ७४/७५ मा २ जना र ७५/७६ मा २ जनालाई जिल्ला वन कार्यालय झापाले वन्यजन्तु चोरी सिकारीको अभियोगमा पक्राउ गरि मुद्दा चलाएको छ ।

जसमा अधिकांस मुद्दा हरिण मारेको अभियोगमा र रेड पाण्डा तस्करी र पंक्षीको बहुमूल्य प्वाँख संकलन अभियोगमा समेत झापामा मुद्दा चलान गरिएको छ ।

झापामा घाइते तथा उद्धार गरिएका जंगली जनावरको संरक्षणकै लागि भनेर जामुनवारी सामुदायिक वन उपभोक्ता समूह कनकाईमा जनावरको संरक्षण केन्द्र समेत संचालनमा ल्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?