गोरखापत्र समाचारदाता
काठमाडौं, भदौ १८ गते । द्रूत ढंगले पुनर्निमार्ण भइरहेको धरहरा क्षेत्रमा परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ । नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिंड्ने चलन छ । यस वर्ष भदौ २४ गते उपाकु परेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, स्थानीय जनप्रतिनिधि र निर्माण कम्पनीबीच बुधबार भएको छलफलमा उपाकु मार्ग खोल्ने सहमति भएको हो । समझदारीअनुरुप यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भइसकेको छ । उक्त मार्ग पुरानो धरहरा र नयाँ बन्ने धरहराको बीचमा रहनेछ । उपाकु हिँड्नेहरु तेबहालहुँदै भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् ।
काठमाडौं महानगरपालिका– २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्परागत रुपमा जहाँबाट हिंड्ने गरिएको हो, सोही ठाउँबाट अस्थायी मार्ग बनाउने सहमति भएको छ ।”
धरहरा पुनर्निर्माण क्षेत्रमा खटिनुभएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका बरिष्ठ विज्ञ राजुमान मानन्धरका अनुसार, भदौ २१ गतेसम्म अस्थायी मार्ग तयार हुनेछ । उपाकु मार्गका लागि पुरानो धरहरा र नयाँ बन्ने धरहराको बीचमा करिब १० फिट बाटो छाडिएको जनाइएको छ ।
उपाकु हिंड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिंड्न मिल्ने बनाउने सहमति भएको मानन्धरले जानकारी दिनुभयो । त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहालहुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ । सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा अाठ फुटे अस्थायी पैदल मार्ग हुनेछ । पछि यहाँ स्थायी सडक बन्ने जनाइएको छ ।