गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १८ गते । बरिष्ठ पत्रकार कनकमणि दीक्षितले अनलाइन मिडिया र सामाजिक सञ्जालले प्रिन्ट मिडियामाथि चुनौती थपिदिएको बताउनुभएको छ । गोरखापत्र संस्थानमा बुधबार आयोजित सञ्चारकर्मीसँगको समसामयिक छलफलमा बरिष्ठ पत्रकार दीक्षितले पत्रकारले खेप्नु परेको परिवर्तित परिस्थितिबारे चर्चा गर्दै भन्नुभयो, “आइटि प्रविधिले अनलाइन पत्रकारितालाई हाम्रोबीच ल्यायो ।
अर्को सोसियल मिडियाले विचार निर्माणको काम गर्न थाल्यो, यो समस्या दैनिक पत्रिका र म्यागेजिनले झेलिरहेका छन् ।” उहाँले दैनिकका सम्पादकलाई सामाजिक सञ्जालले मार्गनिर्देशन गरिरहेको बताउनुभयो । उहाँले लेखले कति लाइक पाउँछ त्यो हिसावले लेखको मूल्याङ्कन गर्ने र कुन विषयमा सोसल मिडियाले बढी ‘पिकअप’ लेला भन्नेतिर ध्यान दिएर लेख वा ‘स्टोरी’ लेखाइने गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अनलाइन मिडिया र सामाजिक सञ्जालले नेपाली पत्रकारितामा ल्याइदिएको समस्याबीच आफूले पढेको र बुझेको पत्रकारिता त कता पुग्यो पुग्यो ?” “फेरि नयाँ माहोलमा आफूलाई सम्हाल्न परेको छ । हामीले अरुतिरको अखबार र अनुभव पढेर केही बुझ्छौ कि भन्ने नठाने हुन्छ । संसारभर यो समस्या एकैपटक आएको छ”, उहाँले भन्नुभयो ।
उहाँले अनलाइनमा शिष्टाचार, प्रोटोकल, चलाउने तरिका के हो भन्ने नबुझेको बेलामा एकैचोटी झ्याम्मै अनलाइन छिरेको बताउनुभयो । उहाँले थप्नुभयो, “अर्कोतिरबाट सामाजिक सञ्जाल अगाडि बढ्यो । छापा पत्रकारिताबाट छिरेका हामी त अक्क न बब्क । कता पढ्ने के बुझ्ने भन्दा आफै बुझ्ने हो । कतैबाट बुझाउने मान्छे छैन ।” उहाँले अनलाइनले समाचार राख्ने र सामाजिक सञ्जालले धकेल्दै लैजाने र नयाँ ‘रियालिटी’ बनाउँदै गएको अवस्थामा प्रिन्ट पत्रकारले के गर्ने भन्ने गम्भीर प्रश्न खडा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो एउटा साइकल हो । विश्वासनीयता के कस्तो छ भन्ने कुरा पनि थिग्रिदै जान्छ । हामीले राम्रो सूचना दिने कार्य गरेमा जनमानसको पनि विस्तारै आस्था फर्केर छापा प्रकाशनमा आउँछ ।” उहाँले सामाजिक सञ्जालले हरेक दिन पानीको फोकाजस्तै जनमानसलाई दौडाइरहेको बताउनुभयो । “हरेक दिन एउटा कुरामा दौडायो, अनि केहीन केही । मानिसहरु कुहिरोको काग बनेका छन्”, उहाँले भन्नुभयो ।
उहाँले छापा माध्यमका प्रकाशनले सामाजिक सञ्जालको भ्रमलाई चिर्दै पाठकलाई बुझाउनु पर्नेमा आफैं भ्रममा बगिरहेको समेत बताउनुभयो । उहाँले पत्रिकामा पाठकले पढ्ने पहिलो कुरा ‘कभरेज अफ पोलिटिक्स’ नै हो भन्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिलाई नछोई पत्रकारिता गर्न सकिएला, तर त्यो सोसियल कभरेज हुन्छ ।” उहाँले ‘सोसियल कभरेज’ ले पत्रिकालाई विकासे पत्रकारितामा परिणत गर्ने र त्यो गरेमा फेरि पत्रकारिताको मर्म झ्यालबाट बाहिर जाने बताउनुभयो ।
छलफलमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रले सरकारको नभई राष्ट्रको मुखपत्रको रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले गोरखापत्र संस्थानले प्रदेशस्तरमा पनि प्रकाशनको थालनी गर्न लागेको जानकारी दिँदै ‘कन्टेन्ट’मा भइरहेको सुधारबारे चर्चा गर्नुभएको थियो ।