मकवानपुर समाचारदाता
हेटौँडा, भदौ २० गते । मकवानपुरको हेटौँडा–कुलेखानी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका ६ स्थित चिसापानीमा टाटासुमो दुर्घटना हुँदा नावालिकासहित तीन जनाको मृत्यु र सातजना घाइते भएका छन् ।
सर्लाहीबाट काठमाडौँका लागि जाँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमोको स्ट्रिङ्गभन्दा मुनिको टायरेट फुस्केर शुक्रबार दुर्घटना भएको हो ।
मृत्यु हुनेमा महोत्तरी जिल्ला माईस्थान ६ का ७० वर्षीय वीरबहादुर वाइबा र सर्लाही जिल्ला बरहथवा ३ का ६० वर्षीय महेन्द्र सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । दुबैजनाको हेटौँडा अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको थियो । यस्तै आमासँग यात्रारत रामेछाप रजनकी १० महिने साम्राज्ञी माझीको दुर्घटनामा परी गम्भीर घाइते भएकोमा हेटौँडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको छ ।
टाटासुमोको टायरेट फुस्केर सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
सुमो दुर्घटनामा घाइते भएकामध्ये छ जनाको हेटौँडा अस्पतालमा र एक जनाको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ । टाटासुमो चालकको सामान्य उपचारपछि हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।
यसैबीच मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलामा डुबेर शुक्रबार एक वृद्धको मृत्यु भएको छ ।
मकवानपुर गढीगाउँपालिका ७ सुकौरा ९० वर्षीय जवानसिं मोक्तानको सामरी खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिंहका अनुसार मोक्तानलाई ढुङ्गाले च्यापिएको अवस्थामा शव फेला गरेको थियो ।
शव खोलामा डुबेको अवस्थामा भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । यसअघि बिहीबार राप्ती खोलामा पौडी खेल्नेक्रममा डुबेर पर्सा जिल्लाका अनिल चौधरीको मृत्यु भएको थियो ।