गोरखापत्र समाचारदाता
काठमाडौं, भदौ २३ गते । टुंगिसकेको मुद्दा मिलाउन सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहीरा साह तेली हुनुहुन्छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रहरी जवान तेलीले कमसल आयुर्वेदिक औषधी दिएको मुद्दा टुंग्याउन सेवाग्राहीबाट पाँच हजार रुपियाँ घुस लिनुभएको हो । उहाँले सेवाग्राहीबाट त्यसअघि पनि उक्त मुद्दा मिलाउने नाममा पटक पटक घुस वापत् रुपियाँ बुझ्नुभएको आयोगले दाबी गरेको छ ।