गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २३ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन सम्वन्धी सोमवार सातबुँदे सुधार कार्ययोजना सार्वजनिक गरेको छ । ट्राफिक नियमको पालना नगर्ने सवारी चालक विरुद्ध ‘बोली व्यवहारमा विनम्रता र कानुनी कारवाहीमा कडाई’ गरिने जनाएको छ ।
महाशाखाका नवनियुक्त प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक ( एसएसपी ) भीमप्रसाद ढकालले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सम्वन्धी सोमवार सातबुँदे सुधार कार्ययोजना सार्वजनिक गर्दै ट्राफिक नियमको पूर्णपालना गर्न आग्रह गर्नुभयो ।
सवारी चालक तथा यात्रु ट्राफिक नियमप्रति प्रतिवद्ध नहुँदा दुर्घटना बढेको स्मरण गराउदै उहाँले सवारी जाम हुनुको मुख्य समस्या पनि चालक कै लापवाही हुने गरेको बताउनुभयो । जाममुक्त काठमाडौँ पहिलो प्राथमिकतामा रहेको धारणा उहाँले राख्नुभयो ।
सार्वजनिक यातायात तथा निजी सवारी चालकले मात्र नभइ सिंहदरवारभित्रका सरकारी चालकले बारम्वार ट्राफिक नियम उलंघन गर्ने गरेको जानकारी दिर्दै उहाँले चालकहरूलाई ट्राफिक नियम र सवारी सञ्चालन सम्वन्धी प्रशिक्षण दिने तयारी भइरहेको बताउनुभयो ।
उपत्यकाको चोकहरूमा सवारी ‘क्यू’ लाग्नु जामको समस्या होइन, ट्राफिक वत्तीको समस्या हो भन्दै उहाँले हाल बन्द रहेका वा वत्ती नभएका चोकहरूमा छिट्टै ट्राफिक बत्ती जडान गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालनै ट्राफिक वत्ती जडान गर्न निरन्तर लागि पर्नुभएको छ ।
ट्राफिक नियमको उलङ्घन गर्ने, मापसे गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जेब्रा क्रसिङको अर्थ नबुझ्ने, जथाभावी सवारी पार्किङ गर्ने, ध्वनी तथा धुँवा प्रदूषण बढाउने चालक विरुद्ध कानुनी कारवाही कडाईका साथ लागू हुने जानकारी सो अवसरमा दिएको हो ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार, मुलुकभर करीव ३५ लाख ३९ हजार सवारी साधनहरू दर्ता भएका छन् । ती मध्ये बाग्मती अंचलमा मात्र ११ लाख ७२ हजार दर्ता भएका छन् । सो मध्ये ९४ प्रतिशत निजी छप्रतिशत सार्वजनिक सवारी साधन छन् ।
काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनहरूको संख्याको तुलनामा ट्राफिक प्रहरी जनशक्ति न्यून रहेको महाशाखाले जनाएको छ । उपत्यकामा एक हजार ८४ जना ट्राफिक प्रहरीको दरबन्दी छ । एकहजार ३६८ जना कार्यरत छन् । यो अनूपातमा एकजना ट्राफिक प्रहरी बराबर नौसय सवारी साधन र १ ट्राफिक प्रहरी बराबर १ं५ किलोमिटर सडक पर्ने गर्छ ।
काठमाडौँ उपत्यकामा एकलेनको सडक छसय ६० किलोमिटर, दुईलेनको सडक दुईसय ३९ किलोमिटर र चारलेनको एकसय ९३ किलोमिटर सडक रहेको छ । महाशाखा प्रमुख ढकालले ट्राफिक व्यवस्थापन कार्यलाई ‘म्यानूल’ भन्दा प्रविधिमैंत्री बनाउनु पर्नेमा विशेष जोड दिनुभयो ।
उहाँले प्रविधिजन्य उपकरणले सु–सज्जित ‘स्मार्ट’ ट्राफिक प्रहरी, व्यवसायीक तथा ईमान्दार ट्राफिक प्रहरी बनाउन विभिन्न समस्यालाई प्राथमिकता राखिएको बताउनुभयो ।
त्यस्तैं, सरोकारवाला निकायसँग सहकाय, ट्राफिक अनुशिक्षण र जनचेतामा विशिष्टिकरण गरिने जनाइएको छ । ट्राफिक नियमको पालना, आम नागरिकको चाहना विशेष अभियान सञ्चालन गरी सडकमैंत्री सवारी, नियममैत्री चालक बनाउन लक्ष्य राखेको छ ।