शान्ति लामा
काठमाडौँ, भदौ २४ गते । गत असारमा ललितपुर बाग्मती गाउँपालिकाका ११ वर्षीय समीर लुङ्बाले आफ्नो ज्यान आफैँले फाले । कक्षा पाँच पढ्दै गरेका उनको सुसाइड नोटमा घर र विद्यालयमा आफूमाथि हुने दुव्र्यवहार सहन नसकेको लेखिएको थियो । सुसाइड नोटबाट उनका विद्यालयका शिक्षक तथा घरका अभिभावक सबै छक्क परे किनभने कसैले पनि समीर यत्ति दुःखी थिए भन्ने भेउ पाएका थिएनन् ।
त्यस्तै केही दिनअघि गोरखा जिल्ला शहीद लखन गाउँपालिकाकी प्रशान्ता श्रेष्ठ कक्षा ५ पढ्दै थिइन् । केही दिनअघि आमा धारामा पानी भर्न गएको बेला उनले आफैँलाई पासो लगाइन् । बहिनीले देखेर डोरी काटुन्जेलमा प्रशान्ताको प्राण गइसकेको थियो ।
यसरी के सही र के गलत भनी खुट्याउन सक्ने उमेर पनि नहुँदै यसरी बालबालिकाले आत्महत्या गरिरहेका छन् । धेरैजसो बालबालिकाको आत्महत्या सानोतिनो घरायसी तनावमा हतास भई हुने गरेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो । परिषद्ले सञ्चार माध्यममा आएका बालबालिकासम्बन्धी घटनाको स्थिति विश्लेषण गर्दा यस्तो देखिएको उहाँले बताउनुभयो । घरको वातावरण नै
बालमैत्री छैन भन्ने कुरा यसबाट पुष्टि हुने उहाँको भनाइ छ ।
गत आर्थिक वर्षमा भएका २७ वटा बाल आत्महत्याको घटना विश्लेषण गर्दा १६ वटा घटना घरायसी झगडा र समस्याका कारण हुने गरेको चन्दले बताउनुभयो । “लुगा, कापीकलमजस्ता कुराको माग घरमा गर्छन्, त्यो पूरा गर्न सक्ने क्षमता नभएपछि सम्झाउनेभन्दा झपार्ने तथा थप्पड हान्नेजस्ता प्रवृत्ति आमनेपाली अभिभावकमा छ”, उहाँ भन्नुहुन्छ, “यस्तै कुरामा चित्त दुःखाइ निराश भएर बालबालिकाले गलत निर्णय लिन्छन् । ” हप्काउने, थप्पड हान्ने, गिज्याउनेलगायत क्रियाकलापबाट बालबालिकामा पर्न सक्ने मानसिक चोटलाई घरकै ठूला मान्छेले ख्याल गर्नुपर्ने उहाँको सुझाव छ ।
त्यस्तै सानो उमेरमा हुने प्रेम सम्बन्धका कारण पनि आत्महत्या हुने गरेको पाइएको छ । परिषद्का अनुसार गत वर्षको समाचार विश्लेषण गर्दा छ जना बालबालिका आत्महत्याको कारण प्रेम सम्बन्ध रहेको पाइएको छ । यस्तो घटना रोक्न किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तनका विषयमा परामर्श दिने प्रचलनको विस्तार गर्नुपर्ने चन्दको सुझाव छ ।
बालबालिका आत्महत्यामा बालकभन्दा बालिका बढी पाइएको सरोकारवाला बताउँछन् । बाल अधिकार परिषद्को गत वर्षको समाचारमा आएका घटना विश्लेषणले पनि त्यही देखाउँछ । २७ घटनामध्ये छ बालक र २१ बालिकाले आत्महत्या गरेको तथ्याङ्कमा छ । समाजमा व्याप्त छोराछोरीबीचको विभेदका कारण छोरीहरू आत्महत्या गर्न प्रेरित भएको हुन सक्ने चन्द बताउनुहुन्छ ।
घरमा आमाबुवा तथा अभिभावकले छोराछोरीबीच गर्ने प्रत्यक्ष अप्रत्यक्ष विभेदले बालिकामा गहिरो छाप पर्ने र कुनै पनि बेला त्यो निराशाका रूपमा परिणत भई आत्महत्याको घटना हुन सक्ने विज्ञह बताउँछन् । त्यसैले घरमा खाने, लगाउने, पढाउने, काम गराउनेजस्ता विषयमा छोरा वा छोरी भनी भेदभाव गर्न नहुने उनीहरू बताउँछन् । नेपाल प्रहरीको तथ्याङ्क हेर्दा वर्षमा १०० देखि ३०० बालबालिकाले आत्महत्या गर्ने गरेका छन् ।
मनोविश्लेषक वासु आचार्यका अनुसार सबै बालबालिकाले अन्योलमा नै आत्महत्या गरिदिन्छन् । “घरका अभिभावक कहिले कडा अनि कहिले नरम भइदिन्छन् । त्यस्तो अवस्थामा अभिभावक साँच्चिकै कठोर छन् कि मायालु छन् भनी बच्चाको मस्तिष्क अन्योलमा पर्छ । यस्तो अवस्थामा हठात निर्णय गर्छन् । ” बच्चालाई व्यावहारिक जीवनका पीडा र सुखहरू सिकाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
त्यस्तै बाल्यावस्थामा नै कुनै मानसिक समस्यामा परेका बालबालिकाले पनि आत्महत्याको प्रयास गर्न सक्ने उहाँ बताउनुहुन्छ । त्यस्तो मानसिक समस्या पारिवारिक असहजता, बुवाआमाको झगडा, यातनाका कारण हुन सक्छन् । यस्तो बेला तनाव हुन्छ । बच्चाको पीडा र रिस व्यवस्थापन गर्न परिवार र विद्यालयको महŒवपूर्ण भूमिका हुने आचार्य बताउनुहुन्छ ।
बालबालिकाको मनस्थिति धेरै नै बिग्रेको अवस्था भए उनीहरूलाई पिट्ने, गाली गर्ने भन्दा उपचार र परामर्शका लागि मनोचिकित्सकलाई देखाउनुपर्ने उहाँ बताउनुहुन्छ । “बच्चाहरूलाई शारीरिक व्यायाम, खेलकुदजस्ता अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्नुपर्छ”, आचार्य भन्नुहुन्छ, “आफ्नै रुचि विकास गर्नका लागि बच्चालाई हातमा ग्याजेट मात्र थमाएर छोड्ने प्रवृत्ति त्याग्नुपर्छ । ”
बालबालिका दुःखी, रिसाहा, छटपटी, एकोहोरो, नौलो बोल्ने र व्यवहार गर्ने, बोल्न, खुल्न छोड्नेजस्ता व्यवहार देखाएमा परिवार र चिकित्सकको सहयोगमा परामर्श दिनुपर्ने आचार्य सुझाव दिनुहुन्छ ।