logo
२०८१ मंसिर ७ शुक्रवार



बिना गुरू नै सिकिन्छ लाखे नाच

‘मान्छे खान्छ कि खाँदैन’ भनेर हेर्न ‘झ्यालिँचा’

खुला |
फिचर |


बिना गुरू नै सिकिन्छ लाखे नाच


यलु जोशी

काठमाडौं, भदौ २४ गते ।

‘‘दु दुम झ्या’
तम तम छ्या
छ्या तुम पतुना झ्या
झ्या झ्या झ्या... ’’

इन्द्रजात्राको मुख्य आकर्षणको रूपमा रहेको मजिपाः लाखेको नाच यही बाजाको तालमा नाच सुरु हुन्छ । रातो मुखौटा लगाएको डरलाग्दो अनुहार भएको रातै कपाल, च्यातिएको ठूलो मुखबाट निस्किएका दुईवटा दाह्रा तथा तासको लुगा, जामा, चोलो, फित्ता, जनीः (पटुका), घङ्ला, हातमा रुमाल लगाई ‘मजिपाः लाखेलाई सजाइन्छ । इन्द्रजात्राको पहिलो दिनमा इन्द्रध्वजा लगाएपछि यो जात्रा सुरु हुन्छ ।

येँया पुन्ही (इन्द्रजात्रा) मा मजिपाः लाखेलाई ‘लाखे आजु’ का रूपमा आस्थापूर्वक पुज्ने गरिन्छ । लाखेलाई ‘शान्त भैरव’ पनि भनिन्छ । लाखेलाई धार्मिक कथासँग जोडेर राक्षस वा दैत्यका रूपमा पनि व्याख्या गरिन्छ ।

मुकुण्डो र विभिन्न गरगहनामा सजिएर खाली खुट्टामा नाच्नु अत्याधिक रुपमा चुनौतीपूर्ण छ नै जो कोहीले हिम्मत गर्न सक्दैनन् । तर विगत २५ वर्षदेखि लाखे नाच्दै आउनुभएका सानु महर्जन भन्नुुहुन्छ, ‘‘यो लाखे आजुको शक्ति हो, मुकुण्डो लगाएपछि गाह्रो भएको अनुभव हुन्छ तर जब लाखे घर (आगाः छँे) बाट विधिवत रुपमा बाजाको तालमा नाचेर बाहिर निस्किन्छ, तब त्यही बजन हलुको हुन्छ, हामीले एकसरो लुगा लगाएजस्तै, अनि मज्जाले नाच्न सकिन्छ ।’’

उहाँका अनुसार, विना गुरुको प्रशिक्षणमा नाचिने नाच लाखे हो । लाखे नाचको लागि कसैले पनि सिकाउँदैनन्, आफूभन्दा पहिला नाचेकाहरूलाई हेर्दै आफँै सिक्ने हो ।
महर्जन भन्नुहुन्छ, ‘‘मैले पनि त्यही गरेको हुँ । कुन तालमा कस्तो हर्कत गर्ने आफैँ प्रशिक्षित हुने हो ।’’

मजिपाः लाखेको मुल नाइके तथा पुजारी राजीव रञ्जित भन्नुहुन्छ, ‘‘काठमाडौं नगरको हकमा पहिला रञ्जित थर भएका नेवार समुदायले मात्र लाखे नाच्ने चलन थियो तर अहिले जो कोही नाच्न सक्छन् । जोकोही इच्छा भएका व्यक्तिहरू पनि लाखे बन्न पाउँछन् ।’’

सामान्यरूपमा लाखे नाचमा बाजाको तालमा हात खुट्टा हल्लाउने, टाउको हल्लाउने र दौडिने मात्र नभएको स्पष्ट पार्दै उहाँ बताउनुहुन्छ, ‘‘नाच्दै धेरै ठाउँमा पुगिन्छ, त्यहाँ अरू देवीदेवताहरू जस्तो पुलुकिसी, सवःभक्कुसँग भेट हुँदा सम्मान प्रकट गर्नुपर्छ, दुई देवता एकआपसमा भेट्दा उफ्रिन्छन् र खुसियाली प्रकट गर्छन् ।’’

लाखेको अभ्यास

मूल नाइके रञ्जितका अनुसार, पहिलो पटक लाखे बन्नेलाई रातिको समयमा नाच प्रस्तुत गर्न लगाइन्छ, रातिको समयमा धेरै पूजा हँुँदैन, त्यसैले लाखे बन्ने इच्छा भएकाहरूलाई त्यसबेला नचाउने र राम्रो नाचे दिउँसै पूजाहरूमा लगिन्छ ।

पहिलादेखि लाखेसँगै हिँड्ने र आजुप्रति सम्मान गर्नेलाई प्राथमिकता दिने गरेका छौँ । लाखे बन्न रक्सी पिउनुपर्छ भन्ने भ्रम अझै रहेको दुखेसो पोख्दै जात्रा अवधिभर रक्सी बन्देज गरिएको छ ।

इन्द्रजात्रामा मात्रै लाखे बाहिर मूल नाइके रञ्जितका अनुसार, भाद्र कृष्ण पक्ष एकादशीमा लाखेघरमा रहेको प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दूकबाट लाखेको मुखौटा निकालिन्छ । त्यसलाई पूजाआजा गरी रङ्गरोगन गर्न यट्खा टोलका चित्रकारलाई जिम्मा दिइन्छ । त्यो मुखौटालाई पूजाआजा गरी शुक्ल पक्ष दशमीको दिन लाखे घरमा फिर्ता ल्याइन्छ । त्यसको भोलिपल्ट एकादशीमा लाखेको रातो केश सजाइन्छ । यो सबै पूजा विधि गोप्य हुन्छ । द्वादशीका दिन इन्द्रध्वजोत्थानपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुन्छ ।

लाखेसँग बालकको छलछाम

मजिपाः लाखेसँगै लाखेलाई जिस्क्याउन ‘झ्यालिँचा’ भनिने सानो बालक हुन्छ । झ्यालिँचाले लाखेलाई विभिन्न हाउभाउले जिस्क्याउँछ । लाखेले झ्यालिँचा खेद्ने र झ्यालिँचाले लाखेलाई छलछाम गरी कायल पार्छ । ‘लाखे–झ्यालिँचा’ को नाट्य प्रस्तुतिले दर्शकलाई सांस्कृतिक मनोरञ्जन दिइन्छ ।

लाखेले ‘मान्छे खान्छ कि खाँदैन’ भनेर हेर्न ‘झ्यालिँचा’ का रूपमा सानो बालकलाई नाचमा उपस्थित गराइन्छ । लाखे जताजता पुग्छ, ती ठाउँमा गएर झ्यालिँचाले जिस्काउँछ । झ्यालिँचाको उमेर ५ देखि १२ वर्षबीचको हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?