गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २६ गते । इन्द्रजात्रामा रथ तान्न बल आओस् भनेर बुधबार डेढ सय किलो राँगाको मासु र १० बोरा चिउरासहितको भतेर लाग्यो । राज्यको तर्फबाट गरिने यो भोजमा सहरका तीन सय मानिस सहभागी रहे । भोज तयार गर्ने गोँगबुका ६८ वर्षीय हीराकाजी महर्जनका अनुसार यो भोजले रथ तान्नेलाई बल दिन्छ भनिन्छ ।
भोज खान आउनुभएका यट्खाका ७७ वर्षीय रामशरण महर्जन, ब्रह्मटोलका ७२ वर्षीय पञ्चनारायण महर्जन, टेङ्गलटोलका ७७ वर्षीय दानबहादुर महर्जन, किलागलका ६७ वर्षीय देवनारायण महर्जनलगायतले यो भोज खानुभयो । “उहिल्यैदेखि रथ तानियो, अझै सकिन्छ”, दानबहादुर महर्जन भन्नुहुन्छ ।
कुमारी रथयात्रामा रथ तान्ने र रथलाई अगाडि लैजाऊ भन्ने समूह काठमाडौँको जैसीदेवल र ठहिँटीतर्फका ज्यापू समुदाय नै हुन् । यिनका नायक महाने नाइके दुर्गाबहादुर डङ्गोल भन्नुहुन्छ, “महानेको समूहले नै रथलाई संयमका साथ लैजान्छ र फर्काउँछ तर अचेल यस्तो छैन । महानेलाई नटेर्नेको बाहुल्य बढी छ र रथ कुदाउनु त्यत्तिकै जोखिम पनि छ । ”
यसो भए पनि यी सामान जुटाउने सुरेन्द्र अमात्य (अनामनगर) भन्नुहुन्छ, “जात्रा भनेको यस्तै हुन्छ । यसो भनिए पनि जात्रा जहिल्यै राम्रैसँग सम्पन्न भएको छ । ” जात्रामा खटिनुभएका बालकृष्ण थापा (मच्छेगाउँ)ले योपल्ट जात्रा व्यवस्थापन सहज रूपमा भएको अनुभव गरिएको बताउनुभयो । “भोज सकिएको छ, जात्रा राम्रै हुन्छ”, थापा भन्नुहुन्छ । जात्राको सन्दर्भमा मजि पाटको लाखे, हल्चोकको भैरव, किलागलको पुलुकिसी र भक्तपुरको महाकाली नाच र किलागलकै देवी नाच वसन्तपुर दरबार परिसरमा देखाइएको छ ।