logo
२०८१ मंसिर ७ शुक्रवार



व्यापार सुक्यो, दुर्घटना बढ्यो तर बनेन बौद्ध–जोरपाटी सडक

खुला |


व्यापार सुक्यो, दुर्घटना बढ्यो तर बनेन बौद्ध–जोरपाटी सडक
फाइल तस्बिरः बिकास द्वारे


फुर्पा शेर्पा 

काठमाडौँ, भदौ २६ गते । विष्णु चाैलागाईंले बौध्द क्षेत्रमा कपडा पसल गर्दै आउनुभएको आठ वर्ष भयो । विगतमा राम्रै व्यापार चल्थ्यो, अहिले व्यापार घटेको छ ।
बौद्ध क्षेत्रमा उहाँको मात्र होइन अरु धेरैको व्यापार घटेको छ । यसको मुख्य कारण यस क्षेत्रको सडक हो । बौद्ध क्षेत्रमा वर्षामा सडक हिलाम्मे हुन्छ भने घाम लागे धुलाम्य हुन्छ ।

चौलागाईंले पसलको भाडा ४० हजार र बत्तिको १६ हजार रूपियाँ तिर्नुपर्छ । उहाँको पसल बाटोको सामुन्ने नै छ । सडकको दुराबस्थाको असर उहाँको पसलमा सिधै पर्छ । बाटो पारीका ग्राहक वारी आउन सक्ने अबस्था छैन । उहाँले भन्नुभयो, सरकारले छिट्टै नै बाटो बनाइदिए यो समस्याबाट चाँडै मुक्ति पाइन्थ्यो । पानी पर्दा वारीको मानिस पारी आउन पनि झन्झट हुन्छ ।

बाटोको धूलोले गर्दा आफूलाई विभिन्न रोग लाग्ने गरेको बताउँदै, उहाँले पसलमा राखिएका नयाँ लुगा धूलोले फोहोर हुँदा ग्राहकले खासै नरुचाउने गरेको बताउनुभयो ।
बौध्दनाथ क्षेत्र विकास समितिमा काम गर्दै आउनुभएका सन्जे लामा र मिलन राईका अनुसार विशेष सिजनमा दैनिक एकसयदेखि आठसयसम्म विदेशी पर्यटक आउने गर्छन् ।

अहिले अफ सिजन भएकाले तीनसयदेखि चारसयसम्म मात्र पर्यटकहरू बौद्धनाथ क्षेत्रमा आउने गरेका छन् । सो क्षेत्रमा आउने पर्यटकहरू मध्ये चीन र भारतबाट धेरै आउने गरेका छन् । बाटोका कारण अहिले पहिलाको भन्दा पर्यटक कम आउने गरेको उहाँहरूको भनाइ छ ।


यस्तै, बौद्ध क्षेत्रमा दश वर्षदेखि फार्मेसी सञ्चालन गर्दै आउनुभएका पारामेडिक्स भरतराज पौडेलको फार्मेसीसँगै क्लिनिक पनि छ । उहाँको क्लिनिकमा दैनिक रूपमा बिरामीहरू स्वास्थ्य परीक्षण गर्न आउने उहाँको भनाइ छ । बाटोको धूलो र धुवाँले बिरामीका संख्या बढेको मात्र हाेइन उहाँको किल्निकमा कार्यरत स्टाफहरू पनि विभिन्न रोगको सिकार भएका छन् ।

बौध्दनाथ क्षेत्र विकास समितिका कर्मचारी सूर्य लामा बिहान ६.०० देखि दिउँसो १.०० बजेसम्म सोही क्षेत्र काम गर्नुहुन्छ । उहाँका अनुसार बाटोको कारण पर्यटक टिकट किन्ने बेलामा बाटोको समस्या बारे गुनासो गर्ने गरेको बताउनुभयो । पाँच प्रतिशत पर्यटकले काउण्टरमा टिकट किन्ने बेला टिकटको मूल्य धेरै उठाउने तर उठाएको अनुसार सुबिधा नभएको जस्ता गुनासो गर्ने गर्छन् ।

पर्यटकले बौध्दनाथको अगाडि पुग्दा बसबाट आफ्नो पाइला राख्दा आनन्द महसुस भएकाे बताउने गरेको उहाँले सुनाउनुभयाे । लामाले भन्नुभयो, बौध्द स्तुपा विश्व सम्पदा क्षेत्रमा पर्छ तर पनि यी क्षेत्रको विकास भने हुनसकेको छैन । भिजिट नेपाल २०२० को प्रचार प्रसार सुनेका छौँ तर अझै उन्नति देख्न भने सकिन्छ त?

पूर्ण लामाका अनुसार बाटोको समस्या र धूलो धुँवाका कारण दिन प्रतिदिन दुर्घटना वृद्धि हुँदै गरेको छ । विशेष गरी पानी पर्दा हिलो, घाम लाग्दा धूलो र धुँवाले गर्दा हरेक दिन बाइक, स्कूटर दुर्घटनाका कारण यात्रुहरू घाइते हुने गरेका छन् । ( शेर्पा प्रशिक्षार्थी पत्रकार हुन्)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?