कैलाश लामा
चरिकोट, दोलखा भदौ २७ गते । हिमाली जिल्ला दोलखाको गौरीशंकर गाउँपालिकामा विश्वकै अति दुर्लभ र संरक्षित जनावर रेड पाण्डा (रातो हाब्रे) को संख्या बढेको छ ।
गाउँपालिकाको वडा नम्बर–७ मार्बुको कोप्लाङ, च्छोकुम, थासिङ खर्क र वडा नम्बर –६ चंखुको गोसाखर्क क्षेत्रलाई आफ्नो बासस्थान बनाएका रेड पाण्डाको संख्या हाल बढेको पाइएको हो ।
गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने उक्त ठाउँमा रेड पाण्डाको संख्या बढेर करिब ५५ देखि ६० पुगेको हुन सक्ने संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो ।
उहाँले रेड पाण्डाको विस्तृत संख्या गणना गर्न चालू बर्षमा बजेट समेत तयार गरिएकोले छिट्टै गणना थाल्ने बताउनुभयो । सन २०१३ को सर्वेक्षण अनुसार उक्त क्षेत्रमा ३० देखि ४० को हाराहारीमा रेड पाण्डा रहेको थियो ।
रेड पाण्डा अहिल निर्माणाधीन खानीखोला हाइड्रोपावरले च्छोकुम स्थित ड्याम साइडसम्म जान बनाएको सडक वरपर देखिन थालेका छन् । गत शुक्रबार मात्रै हाइड्रोपावरका डोजर अपरेट पासाङ शेर्पाले डोजर पछिपछि सडक पार गर्दै गरेको रेड पाण्डाको तस्बिर सामाजिक सञ्जाल फेस बुकमा राख्नु भएको थियो । केही समय अघि पनि स्थानीय बागविर शेर्पाले कोप्लाङ क्षेत्रमा रेड पाण्डा खाइखेली गरिरहेको भिडियोनै खिच्नु भएको थियो ।
रेड पाण्डाको संख्यामा वृद्धि हुँन गई चहलपहल बढेको हुन सक्ने शंकेत गरेको संरक्षण क्षेत्र प्रमुख शाहले प्रष्ट पार्नुभयो ।
रेड पाण्डाले मान्छेलाई देखेमा हेरेर बस्ने, नडराउने, नभाग्ने र आफ्नै सुरमा खेलेर बस्ने गरेको डोजर अपरेटर पासाङ शेर्पा बताउनुहुन्छ ।
लजालु, शान्त र भाग्न नसक्ने खालका यी जनवार विश्वकै अति दुर्लभ र संरक्षित जनावर भएको उल्लेख गर्दै संरक्षण क्षेत्र प्रमुख शाहले निर्माणाधीन हाइड्रो पावरहरुले रेड पाण्डा र तिनको बासस्थान बचाउन संवेदनशील बन्नुपर्ने बताउनुभयो ।
‘वातावरणीय प्रभाव मूल्यांकनमै सो प्रतिबद्धता जनाएकोले अब हाइड्रोपावरहरू जिम्मेवार बन्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘रेड पाण्डाको चहलपहलले च्छोकुम र कोप्लाङ क्षेत्रमा रेड पाण्डाको संख्यामा वृद्धि भएको र उक्त क्षेत्रमा बाँस र निगालो रोप्ने तयारीमा लागेका छौँ।’
उहाँले गौरीशंकर क्षेत्र रेड पाण्डा अनुकुल रहेकाले जिल्लाका सबै सरोकारवाला निकायसँग छलफल गरि छिट्टै उक्त क्षेत्रलाई रेड पाण्डा जोन घोषणा गरि रेड पाण्डाको प्रजनन केन्द्र स्थापना गर्ने बताउनुभयो ।
रेडपाण्डा बाँस र निगालो घारी रुचाउँछ । उक्त जनावरले निगालाका कलिला मुनाहरू बढी खान रुचाउँछ । त्यसैले तत्कालको लागि बाँस र निगालो रोप्ने कार्यक्रम व्यापक बनाइने संरक्षण क्षेत्रका प्रमुख शाहले जानकारी दिनुभयो ।
गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने सिन्धुपाल्चोकको फुलपिङ कट्टि, दोलखाको चंखु, मार्वु र रामेछापको चुचुरे र गुमदेल क्षेत्रमा रेड पाण्डा पाइने गरेको उहाँले बताउनुभयो ।
जोखिम अवस्थाबाट जोगाउन राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐनमा उक्त जनवार चोरी सिकारी गरेमा पाँचदेखि १५ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । वन्यजन्तु अन्तर्राष्ट्रिय व्यापार महासन्धिअनुसार उक्त जनावर बेचबिखन र ओसारपसार गर्न बन्देज लगाइएको छ । यो जनावर २५ सयदेखि ४८ सय मिटरसम्म पाइएको तथ्यांक छ । नेपाल, भारत, भुटानमा एक हजार जति रेडपाण्डा भएको अनुमान छ ।