शिवा तामाङ
काठमाडौँ, भदौ २८ गते । इन्द्रजात्रा पर्व अवलोकनका लागि नेपाल आएका विदेशी पाहुनाहरूले शु्क्रबार काठमाडाँैको पुरानो भित्री सहरका विभिन्न स्थान तथा सम्पदा अवलोकन भ्रमण गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा पर्व अवलोकनका लागि नेपाल आउनुभएका पाहुनाहरूको पदयात्रा हनुमानढोका दरबार क्षेत्रबाट सुरु भएर झोछेँ टोल हुँदै नःबही, मञ्जुश्रीनक महाविहार (बिकमा बहाः), थानबहाः, भीमसेनको मन्दिर, काष्ठमण्डप, सिँल्यं सतः, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः, आकाशभैरव, श्वेत भैरव हुँदै हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेर समापन भएको थियो ।
पदयात्राका क्रममा पाहुनाको स्वागतका लागि अघिअघि परम्परागत धिमे बाजा बजाइएको थियो । पदयात्रामा सहभागी पाहुनाका लागि विभिन्न ठाउँमा स्थानीयवासीले सगुन, फूल, अक्षता र टीका लगाएर स्वागत गर्नुभएको थियो ।
अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका प्रमुख जियाङ सियावहोङ, भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जीलगायत चीन, भारत, अमेरिका, भुटान, भारत नर्थ दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंह र जापानबाट आउनुभएका पदाधिकारीहरू सहभागी हुनुभएको थियो ।
सोही अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुखसहित विदेशी पाहुनाले हनुमानढोका दरबार परिसरमा नेवाः राष्ट्रिय पत्रकार दबु काठमाडौँ जिल्लाद्वारा आयोजित इन्द्रजात्रा फोटो प्रदर्शनी संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
भिजिट नेपाल–२०२० लाई समेत ध्यानमा राखी महानगरपालिकाले इन्द्रजात्राको अवसर पारेर विदेशी पाहुनालाई पहिलो पटक औपचारिक रूपमा निमन्त्रणा गरेको हो ।
विदेशी पाहुनासँगै करिब तीन घण्टा पदयात्रामा सहभागी हुनुभएका महानगरपालिकाका प्रमुख, उपप्रमुखले काठमाडौँ सहर निर्माणको वास्तुशैली, संस्कृति र मौलिक सामाजिक जीवनसमेत विश्वसामु प्रदर्शन गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले विदेशी पाहुना पनि यहाँको पुरानो सहर, गल्ली, चोक अवलोकन गर्दा खुसी भएको बताउनुभयो ।
पदयात्राका क्रममा थिम्पुका प्रमुख किन्ले दोर्जीले काठमाडौँका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आध्यात्मिक भावनाको अनुभूति भएको प्रतिक्रिया दिनुभयो । अमेरिकाको बोल्डर नगरबाट आउनुभएका प्रतिनिधि रोनाल्ड एडवार्ड पेरिजले खुसी हुँदै भन्नुभयो, “करिब तीन घण्टाको पदयात्रा कुनै थकावट महसुस नभई सकियो । यसबाट मैले धेरै जानकारी प्राप्त गरँे । ”
हनुमानढोका दरबार क्षेत्रमा आयोजित फोटो प्रदर्शनी परिसरमा जात्रालुको भीड देखेर जापानको मात्सुमोटो सिटीबाट आउनुभएका प्रतिनिधि माकोतो सोनेरा दङ्ग पर्नुभयो ।
चीनको लान्चाउबाट कमिटी अफ द सीपीपीसीसीका उपाध्यक्ष ज्याङ सिओहाङ, चीनको सियान, छेन्दु, सेन्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरका चार जनासहित ४१ जना इन्द्रजात्रा अवलोकनका लागि नेपाल आउनुभएको छ ।