यलु जोशी
काठमाडौँ, भदौ २८ गते । परम्परागत शैलीको बाजागाजाको ध्वनि इन्द्रजात्राको पहिचान हो । उपत्यकाको भित्री सहरका विभिन्न ठाउँमा इन्द्र प्रदर्शनी राख्नु, कुमारी, वटुक भैरव, गणेशको रथ तान्नु, ठाउँठाउँमा भैरवको मकुण्डो, समय्बजी सजाएर प्रदर्शनीमा राखिनु, दबुहरूमा देवीको नाच देखाउनु, पुलुकिसी नाच, मजिपा लाखेको नाच यी सम्पूर्ण गतिविधिमा विशाल जानसमुदायको सहभागिता हुनुले इन्द्रजात्राको धार्मिक, सांस्कृतिक र सामाजिक महŒव उजागर हुन्छ । यो इन्द्रजात्रा पर्यटकका लागिसमेत आकर्षक बन्यो ।
यस दिन साँझपख घरघरमा बत्ती बाली समय्बजी राखी पूजा गरेपछि बाहिर आएर बाँड्ने चलन छ । गङ्गा क्लबका अध्यक्ष दीनेशमान जोशीले टोलछिमेकका केटाकेटी ‘लाः छकु वय्क सम्य बजी’ भन्दै माग्न आउने गरेका छन् । उहाँले यस उत्सव भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म आठ दिनमा विभिन्न किसिमका सांस्कृतिक पक्षबीच मनाइने पनि जानकारी दिनभयो । इन्द्रजात्रा
(येयाँ पुन्ही)को दिन सम्य नखः (विषेश प्रकारको च्युरालगायत बोडी, मासु, कालो भटमास, छोइला आदिको समिश्रण)का रूपमा इन्द्रजात्रा मनाइन्छ । यस पर्वलाई स्याः बजी नखः पनि भनिन्छ । घरघरमा समय्बजी राखेर परिवारसहित आफन्तहरू मिली भोज खाइन्छ ।
इन्द्रचोकको आजु द्यः (भैरव देवता) को अगाडि समय्बजी सजाउनुका साथै आजु द्यःको जाँड (थ्वँ)को माटोको जाँड राख्ने भाँडो तेप)मा पञ्चकार पूजा गरी जाँड (थ्वँ) राखिएको थियो । वसन्तपुरको श्वयेत भैरव (हाथु द्यः)लाई पनि पञ्चमकार पूजा गरी हाथु ह्याकी
(रक्सी बाँड्ने) गरिने पुजारी राजन महर्जनले जानकारी दिनुभयो ।
उहाँले राष्ट्रप्रमुखको पुजा गरेपछि कुमारी माजुको रथ तान्न सुरु गरिएको थियो । माथिल्लो टोल (थःने) र तल्लो टोल (क्वने) गरी दुई पल्ट रथ तानिन्छ र नानिचा गरी समापन गरिने बताउनुभयो ।
रथ ल्याउने बाटोको दबुहरूमा दि प्याखं (देवीको नाच) देखाइएको थियो । यसरी नाच भइरहेको दबु नजिकै पुगेपछि रथ एकछिन रोकी कुमारी माजुलाई नाच देखाइन्छ र कुमारी माजुबाट भेटी (पैसा) चढाइन्छ । यस अवसरमा घरघरबाट पनि कुमारी माजुलाई पूजा गरिन्छ ।
इन्द्य्रचोकमा रथ पुगेपछि आजु द्यः समूहबाट पूजाको साथै जाँड पनि चढाइन्छ । वसन्तपुर दरबर क्षेत्रमा रथ पुगेपछि श्वेत भैरव खलकबाट पूजाको साथमा रक्सी चढाइन्छ । यसलाई नेपाल भाषामा हाथु ह्याकेगु भनिन्छ । यस अवसरमा समय्बजी र रक्सी बाँडिन्छ । यो प्रसाद खाएमा पेटको रोग पनि निको हुन्छ भन्ने विश्वास गरिन्छ ।
लिच्छविकालदेखि अस्तित्वमा रहेको यस पर्वमा जयस्थिति मल्लको समय (वि.सं. १८१२–१३) मा चलनमा रहेको गणेश, भैरव, कुमारीका रथ तान्ने प्रचलनले अझ उल्लासमय बनाएको छ । प्राचीन कालदेखि अस्तित्वमा रहेको यस पर्व राष्ट्रिय पर्वकै हो । साथसाथै यस चाडले संस्कृति र पर्यटनको
क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
१०८ कुमारी पूजा
इन्द्रजात्राको दिनमा १०८ जना बालिकालाई कन्या पूजा गरिएको छ । फसिकेव क्लबको आयोजमा बर्सेनि इन्द्रजात्राकै दिन जीवित देवी कुमारीको प्रतीक मानेर कन्या पूजा गरिने प्रजोनमान शाक्यले जानकारी दिनुभयो । उहाँले इन्द्र जात्राकै दिन जीवित देवी कुमारी, भैरव र गणेश रथारोहण गरिने भएका कारण देवीको आशिष अन्य कन्यालाई प्राप्त होस् भन्ने उद्देश्यले पूजा गरिएको बताउनुभयो ।
विगत चार वर्षदेखि आयोजना गरिँदै आएको सो पूजामा नेवारी समाजमा बेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतीक मानी कन्या पूजा गरिँदै आएको छ । कन्यालाई उच्च सम्मानस्वरूप पुजिने गरिन्छ । भोकै बसेर कन्या पूजा गर्दा आजको दिनमा कन्यालाई केही रोग नलाग्ने र आफूहरूले आँटेको काम पूरा हुने विश्वासका साथ कन्या पूजा गरेको सहभागी बताउछँन् । सो पूजामा पूर्वकुमारी मतिना शाक्यलाई पनि पूजा गरिएको थियो ।
यसैगरी पूर्वकुमारी शाक्यका बुवा प्रतापमान शाक्यले नेपालमा कुमारी पूजा गर्ने परम्परालाई महŒवका साथ हेरिने जानकारी दिनुभयो । उहाँले नेवार समुदायमा कुनै पनि राम्रो काम गर्दा कुमारी पूजा गर्नुपर्ने मान्यता छ भन्नुभयो ।