logo
२०८१ मंसिर ७ शुक्रवार



‘छैन थोपा पानी वितरण, ३० लाख रुपियाँ चियाको विवरण’

खुला |


‘छैन थोपा पानी वितरण, ३० लाख रुपियाँ चियाको विवरण’


गोकर्ण दयाल
बैतडी, भदौ २९ गते । जिल्लाको मेलौली नगरपालिकाका नगरबासीले खानयोग्य पानी पाएका छैनन् तर जनप्रतिनिधिले चियामा मात्रै ३० लाख रुपियाँ खर्च गरेका छन् ।

नगरबासीले खानेपानीको ट्याङ्कर किनेर पानी आपूर्ति गर्न माग गरे पनि नगरपालिकाले ट्याङ्कर नकिनेर जनप्रतिनिधि चढ्ने थप गाडी किन्ने निर्णय गरेपछि नगरबासी आक्रोशित बनेका छन् ।

मेलौली नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीका धेरै गुनासो आएका छन् । तर, नगरबासीको गुनासो सुन्न सार्वजनिक कार्यक्रममा न मेयर हुनुहुन्थ्यो न त प्रमुख प्रकाशकीय अधिकृत नै ।

कुल नौवटा वडा रहेकोमा तीन जनामात्रै वडा अध्यक्षहरु सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा वडा नम्बर १, २, ३, ४, ५, र ९ नम्बरका वडा अध्यक्षहरु सहभागी हुनुभएन ।

नगरपालिकाका मेयर कृष्णसिंह नायक काठमाडौं भएको र वडा अध्यक्षहरु सार्वजनिक सुनुवाईमा उपस्थित नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बिष्टले बताउनुभयो । बिष्टले भन्नुभयो, ‘उपमेयर राधा ओझाको अध्यक्षतामा सार्वजनिक सुनुवाई भएको हो । नागरिकहरुको सहभागिता भए पनि सबै जनप्रतिनिधि उपस्थित नहुँदा कार्यक्रम खासै प्रभाकारी बन्न सकेन ।’

उपमेयर राधा ओझाले सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउनुभएको छ । ओझाले भन्नुभयो, ‘‘कतिपय कुरा मेयरज्युले जवाफ दिनुपर्ने पनि थिए । सकेजति नगरबासीको गुनासोको जवाफ दिएँ ।’’

खानेपानीको हाहाकार ब्यहोरिरहेका मेलौली नगरबासीको गुनासो र मागको कुनै सुनुवाई नहुँदा खिन्न भएको नगरबासीले बताएका छन् । नगरपालिकामा गाडी र मोटरसाईकल हुँदाहुँदै थप गाडी किन्ने कुराले दुःखी बनाएको स्थानीय होटल व्यवसायस् एवं बजार व्यवस्थापन समितिका उपाध्यक्ष विजयसिंह नायकले बताउनुभयो ।

विजयसिंहले भन्नुभयो, “नगरपालिकामा खानेपानीको चर्को समस्या छ, घोडा र खच्चरमा पैसा तिरेर कति पानी बोक्नु ? खानेपानीको ट्याङ्कर किनेर पानी आपूर्ति गर्न माग गरे पनि कुनै सुनुवाई भएन, पानीको समस्याले होटल चलाउनै मुश्किल परेको छ । ”

२२ हजार पाँचसय ४५ जनसंख्या भएको मेलौली नगरपालिकामा तीन हजार नौसय ३४ घरधरी छन् । खानेपानीको समस्या झेल्दै आएका मेलौली नगरपालिकाका बासिन्दाको मुख्य माग खानेपानीको आपूर्ति भए पनि नगरपालिकाले स्थानीयबासीको माग सम्बोधन गर्न सकेको छैन ।

मेलौली नगरपालिकाले अधिकांश बजेट सडकमा खर्च गरेको छ । सडकको सर्वे र डिपीआर गर्न मात्रै मेलौली नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ मा ८४ लाख ७५ हजार तीनसय ५५ रुपियाँ खर्च गरेको छ ।

सडकतर्फ डिपिआर भएका योजनाको समेत सर्वे गर्ने भन्दै प्राविधिकले नियम विपरित पेश्की लिएको समेत पाईएको छ । वडा नम्बर ५ को लामालेक–खलगाड–तिताबै लगायतका ६ वटा ग्रामीण सडकमा प्राविधिकले नियम विपरित पेश्की लिएका हुन् ।

सडक निर्माण गर्दा प्रदेश सरकारबाट स्वीकृत गर्नुपर्ने प्रावधान भए पनि नगरपालिकाले नियम विपरित रिपोर्ट बनाएर जथाभावी सडक निर्माण गरेको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?