logo
२०८१ मंसिर ७ शुक्रवार



डेंगु भएमा तीनहजार रुपियाँ उपचार खर्च दिइने

खुला |


डेंगु भएमा तीनहजार रुपियाँ उपचार खर्च दिइने


शिवकुमार काशी
हेटौँडा, भदौ ३० गते । राक्सिराङ गाउँपालिकाले डेंगुको रोग लागेका विरामीलाई यातायात र खानाखर्चबापत तीनहजार रुपियाँ दिने निर्णय गरेको छ ।

राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुुपर्ने बाध्यता रहेकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

गाउँपालिकाभित्रका स्थानीय नागरिकमा

साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १÷१ स्वास्थ्यचौकीहरु रहेका छन् ।

स्वास्थ्यचौकीहरुमा चिकित्सकीय सेवा नहुने भएकाले डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

डेंगु पहिचानको बाध्यतालाई सजिलो पार्नका लागि गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३०/३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक बिजय कापरीले बताउनुभयो ।

डेंगु किट पठाइएसँगै ४ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर डेंगु किट परिक्षण तरिका सिकाएर गाउँ पठाइएको कापरीले जानकारी दिनुभयो ।

‘अब गाउँमै डेंगु परिक्षण हुन्छ’, स्वास्थ्य संयोजक कापरीले भन्नुभयो–‘रगत परिक्षणपछि डेंगु प्रमाणित भएमा ३ हजार रुपियाँ नगदै दिएर डेंगुका विरामीलाई उपचारका लागि मनहरी, हेटौँडा वा चितवनका अस्पतालहरुमा पठाइने छ ।’

हालसम्म राक्सिराङ गाउँपालिकाभित्र वडा नं ३ का २ जना मानिसहरुमा मात्रै डेंगु संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि राक्सिराङ गाउँपालिकाले एकसय थान डेंगु परिक्षण किट प्रदान गरेको छ ।

राक्सिराङ गाउँपालिकाका बिरामीहरु पनि स्वास्थ्य केन्द्र आउने हुँदा सुविधाका लागि किट प्रदान गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रमा हालसम्म १८ जनामा डेंगु संक्रमण भएको डा. दीपेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?