मनोज तिमलसिना
रौतहट,असोज ४ गते । रौतहटको चन्द्रनिगाहपुरका एक दलित परिवारका अभिवावकले हराएको आफ्नो बच्चा फिर्ता पाउन नसकेको गुनासो गर्नुभएको छ । छोरा बुझेर लिन उहाँले गुहार माग्नु र धाउनुपरेको छ ।
चन्द्रपुर नगरपालिका १० पडरियाटोलका चन्देश्वर बैठाले आफ्नो ६ वर्षीय छोरा अविनाश बैठा हराएको १७ महिनापछि भेटिए पनि प्रशासनले डीएनए परीक्षण गराएपछि मात्र जिम्मा लगाउने भनेका कारण खर्च अभावका कारण भेटिएका छोरा लैजान नसक्नु भएको गुनासो गर्नुभएको हो । डेढ महिनादेखि अविनासलाई महिला तथा बालबालिका सेवाकेन्द्र,गरुडामा राखिएको छ ।
आर्थिक रुपमा कमजोर दलित परिवारका चन्देश्वरले काठमाडौं गएर परीक्षण गराउन ठूलो खर्च लाग्ने र त्यसका लागि आफ्नो हैसियत नभएको दुखेसो गर्नुभयो । यत्रो रकम कहाँबाट ल्याउनु ? उहाँले भन्नुभयो, ‘आफ्नै छोरा घर ल्याउन कष्ट र सास्ती बेहोर्नुर्पयो ।’ छोरा पाउन जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयले दिएको नाता सिफारिसपत्र, विद्यालयलको सिफारिस पत्र र आफ्नो सन्तानसँग भएका फोटोलगाएतका कागजात पेश गर्दा समेत बच्चा पाउन अनावश्यक खर्च र सास्ती भोग्नुपरेको चन्देश्वरले पिडा ब्यक्त गर्नुभयो । बुबा चन्देश्वरले पहिले छोरा लिन बोलाउने तर पछि आफ्नै छोरा लिन डीएनए परीक्षण गर्न भनेपछि थप दुखित बनाएको बताउनुभयो ।
विपन्न परिवारका बैठाको पेशा ट्याक्टर चालक हो । बैठाका दुई छोरी र दुई छोरा गरि चार सन्तानमध्ये अविनाश कान्छा छोरा हुन । अविनाश २०७५ जेठ ३० गते बिहान ८.०० बजे घर नजिकको पसल छेउबाट खेलीरहेको अवस्थामा हराएका थिए । उनी स्थानीय एभरग्रिन बोडिङ स्कुलको नर्सरी कक्षामा अध्ययनरत थिए । साँझसम्म बच्चा घर नआएपछि अभिभावकद्धारा खोजी गरियो । तर,भटिएनन् । बैठा परिवारले ३१ गते इलाका प्रहरी,कार्यालय चन्द्रनिगाहपुरमा खोजी गर्न निवेदन दिएका थिए । प्रहरीले खोजे गरे पनि बच्चा फेला पर्न सकेनन्
जिल्ला प्रशासन कार्यालय,रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले ती बालक अविनासलाई आफ्नो सन्तान हो भन्दै महोत्तरी जिल्लाको औरैही ६ निवासी रामलोचन सोनारले दाबी गर्न आएका कारण यस प्रकरण जटिल देखिएको बताउनुभयो । अहिले दिउँला,पछि अर्काे समस्या आउला भनेर डीएनए परिक्षणको विधि अपनाउन भनेको हुँ,थापाले भन्नुभयो, ‘केही दिनअघि जिप्रका गौरमा भएको छलफलमा अविनाशले बुबा र हजुर आमालगायत का अन्य नातेदारलाई चिनेका थिए । तर आमा अञ्जली देवीलाई चिनेनन् । अनिमात्र मैले डिएनए परिक्षणका लागि पत्र बनाएर काठमाडौं जान भनेको थिए ।
महोत्तरीका ती सोनारलाई प्रहरीले प्रमाण ल्याउन भनेपछि सम्पर्कमा फेरि नआएको रौतहटका प्रहरी प्रमुख भुपेन्द्र खत्रिले बताउनुभयो । सोनारले झुटो दावि गरेको प्रहरीको आशँका छ । अहिले महिला सेलमै प्रहरी संरक्षणमा रहेका अविनाशलाई कटहरिया नपा वडा नम्वर आठस्थित बगहीका राजकिशोर महतोले बालक फेला पारेको भन्दै गत डेढ महिनाअघि प्रहरीमा बुझाएका हुन ।
महतोले मनस्थिति बिग्रिएको एक महिलाले छाडेर गएको प्रहरीलाई बताए पनि बैठा परिवार त्यो कुरा पत्याउन तयार छैनन् । घटनाको १६ महिनापछि बैठा परिवारले बच्चा कटहरिया रहेको भन्ने सुचना पाएको बताएपछि अविनासलाई महिला सेलमा महतोले ल्याएको बैठा परिवारको दावि छ ।