logo
२०८१ मंसिर ८ शनिवार



तीन दिन खोज्दा पनि भेटिएन जीप , गोताखोर काठ्माडौं फर्किए

खुला |


तीन दिन खोज्दा पनि भेटिएन जीप , गोताखोर काठ्माडौं फर्किए


ध्यान कुलुङ
सङ्खुवासभा, असोज ४ गते । एक हप्ता अघि जिल्लाको अक्कर भिरबाट जीप अरुण नदिमा खसेर बेपत्ता भईरहेकाहरुलाई गोताखोर टोलीले तीन दिनसम्म खोज्दा पनि भेटेका छैनन् । घटनास्थलमा जीप र बेपत्ता यात्रुहरुलाई नभेटिएपछि गोताखोर टोली फर्किएका छन् ।
अक्कर भिरको खोँचबाट करिव ४० मिटर तल रहेको अरुण नदिमा जीप खसेको थियो । जीप खसेको ठाउँमा पानी जमेको जस्तो भए पनि तीब्र गतिको घुमाउने (पानीको भुमरी) भएकोले खोज्न समस्या परेको थियो । जीप खसेकै ठाउँमा हुनसक्ने धेरैले आसंका गरिए पनि त्यस ठाउँमा केही पनि नभेटिएको गोताखोर टोलीले जनाएको छ ।
जीप खसेको ठाउँमा नभएको र अन्यत्र नै बगेर गएको निष्कर्ष निकालेर उनीहरु फर्केका हुन् । खोजी कार्यको अन्तिम दिन शनिबार ठुलो क्षमताको चुम्बक प्रयोग गरेर जीपको खोजी गरे पनि त्यस ठाउँमा नभेटिएपछि अन्यत्र नै गएको टोलीले निष्कर्ष निकालेको हो ।
अरुण नदि अत्याधिक धमिलो भएकोले पानी भित्र ‘भिजिविलिटी’ कम हुँदा खोज्न अप्ठयारो भएको खोजी कार्यमा संलग्नहरुले जनाएका छन् । पानी भित्र केही नदेखिएपछि पानीको सतहसम्म नै छामेर खोजीएको गोताखोर टोलीका हवल्दार बलराम अधिकारीले जानकारी दिनुभयो ।
जीप खसेको स्थान निक्कै गहिरो र लेदोले पुरिएको भएकोले पनि खोजी गर्न निक्कै अप्ठ्यारो भएको अधिकारीले जानकारी दिनुभयो । छामेर खोज्दा नभेटिएपछि चुम्बकको सहायताले गाडी खोजीए पनि नभेटिएपछि त्यस ठाउँमा जीप र मानिसहरु नभएको निष्कर्षमाम पुगेको हवल्दार अधिकारीले बताउनुभयो ।
विभिन्न विधीहरु प्रयोग गरेर खोजिए पनि वेपत्ताहरु नभेटिएपछि अब अरु नै विकल्प खोजिने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको भनाई छ । अहिलेका जनशक्तिहरु भन्दा अन्य प्रविधि र सिपयुक्त भए माथिल्लो निकायमा कुरा गरेर खोजिने उहाँले बताउनुभयो । यसको लागि जिल्लाका सांसद, जनप्रतिनिधि र सरोकारवालाहरूसँग कुरा भईरहेको उहाँले बताउनुभयो । घटनास्थल वरपर र सम्भावित स्थानहरूमा जिल्लाको सुरक्षा जनशक्ति प्रयोग गरेर खोज्ने काम भने जारी राखिने प्रमुख जिल्ला अधिकारी दुलालको भनाई छ ।
दुर्घटनामा परि वेपत्ता हुनेहरुमा खाँदबारी ९ का सवारी चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ कै २२ बर्षिय प्रमेश थापा मगर र उनका भिनाजु खोटाङका २७ बर्षिय खबरमान पिठाकोटे रहेका छन् । त्यस्तै, खाँदबारी ९ कै २४ बर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षीय सदिक्षा राई श्रेष्ठ र उनीहरुका २ महिनाका छोरा समिर श्रेष्ठ रहेका छन् । निमोनियाको बिरामी बच्चाको उपचार खाँदबारी अस्पतालमा हुन नसकेपछि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । यसरी उपचारको लागि धरान जाने क्रममा राती दश बजेर पाँच मिनेटमा दुर्घटना भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?