logo
२०८१ मंसिर ८ शनिवार



चितवन मेडिकल कलेज र विद्यार्थीबीच सहमति

खुला |


चितवन मेडिकल कलेज र विद्यार्थीबीच सहमति


वसन्त पराजुली

भरतपुर, असोज ५ गते । चितवन मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच सम्झौता भएको छ । कलेज सञ्चालक, विद्यार्थी, र विद्यार्थीका अविभावकबीचमा शनिबार भरतपुरमा भएको छलफलमा कलेज प्रशासनले बढी लिएको शुल्क फिर्ता दिन सहमती जनाएपछि
सम्झौता भएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा भएको छलफलमा विद्यार्थीको बढी शुल्क फिर्ता गर्नेसहित पाँचवटा बुँदामा सहमति भएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । बस्नेतले भन्नुभयो, “३० दिन अर्थात् कात्तिक १८ गतेभित्र कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमती भएको छ । ”
सम्झौतासँगै विद्यार्थीहरूले सञ्चालन गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । विद्यार्थी आन्दोलनका कारण कलेजमा विगत २० दिनदेखि पठनपाठन ठप्प थियो । सम्झौतामा ‘चितवन मेडिकल कलेजले ३० कार्यदिनभित्र स्नातक तहका सबै विद्यार्थीबाट नेपाल सरकार एवं आईओएमले तोेकेभन्दा बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता’ जनाइएको उल्लेख छ ।
विद्यार्थीहरूले कलेज प्रशासनसमक्ष राखेका आन्तरिक मागका सम्बन्धमा कलेज प्रशासन, अभिभावक र विद्यार्थीबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने कुरा पनि सम्झौतामा उल्लेख छ । यस्तै थप समस्या केही भए समाधान गर्न सात सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिको संयोजकमा अभिभावकका तर्फबाट टेकप्रसाद चापागाईं, सदस्यहरूमा विद्यार्थी सुकरात पौडेल, कला अधिकारी, कलेज व्यवस्थापनका अरूण कोइराला छन् ।
चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिश्चन्द्र न्यौपानेले सहमति कार्यान्वयन गर्ने बताउनुभयो । कलेजले सरकारले तोकेभन्दा १२ देखि १५ लाख रुपियाँसम्म बढी रकम लिने गरेको विद्यार्थीले दाबी गर्दै आएका छन् । अस्पतालका सञ्चालक
हरिशचन्द्र न्यौपानेले भने सरकारले तोकेभन्दा बढी रकम नलिएको दाबी गर्दै आउनुभएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपियाँ तोकेको छ तर चितवन मेडिकल कलेजले सोभन्दा बढी लिएको आरोप विद्यार्थीको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?