logo
२०८१ मंसिर ८ शनिवार



परम्परागत नाच जोगाउँदै युवा

खुला |
समाज |


परम्परागत नाच जोगाउँदै युवा


शान्ति लामा कीर्तिपुर, असोज ६ गते । कलाकार अभावमा परापूर्व कालदेखि चलिआएको देवी प्याखँ सङ्कटमा पर्ने देखिएपछि कीर्तिपुर–१०, तःननिका युवाले प्याखँको प्रशिक्षण थालेका छन् । ‘‘एक सेट मात्र कलाकार छन्, एक जना कलाकार मात्र बिरामी परे पनि नाच रोकिने अवस्था छ । उमेरका कारण भएका कलाकारले विश्राम लिन सक्छन्’’, तः ननि दाफा खलका उपाध्यक्ष दिलिप महर्जनले भन्नुभयो, ‘‘त्यसैले नयाँ पुस्तालाई हस्तान्तरण गर्न प्याखँको तालिम थालेका छौँ ।’’ उहाँ आफैँ पनि अहिले प्रशिक्षण लिइरहनुभएको छ । यसअघि २०५६ सालमा देवी प्याखँको प्रशिक्षण भएको मुक्तिनाथ महर्जन स्मरण गर्नुहुन्छ । त्यलिबेला प्रशिक्षण लिनुभएका उहाँले अहिले भने नयाँ युवा पुस्तालाई सिकाइरहनुभएको छ । यसपालि प्रशिक्षणबाट देवी प्याखँ नाच्ने १६ जनाको दुईवटा समूह तयार हुने उपाध्यक्ष दिलिप महर्जनले बताउनुभयो । प्रशिक्षण एक महिनादेखि सञ्चालन भइरहेको छ । तः ननिको देवी प्याखँ अहिलेसम्म निरन्तरता पाइरहेको एक मात्र मौलिक लोक नाच हो तर यसको संरक्षणका लागि कुनै गुठी छैन । यो नाच कहाँबाट यहाँ ल्याइयो भन्ने थाहा नभएकाले जेनतेन तः ननि टोलबासीले संरक्षण गरिरहेको एक कलाकार गोपीलाल महर्जनले बताउनुभयो । गुठी नभएको र यो प्याखँको उद्गम थाहा नभएका कारण पनि पछिल्ला वर्षमा आर्थिक सङ्कट भएको उहाँको भनाइ छ । एक पटक प्याखँ नाच प्रदर्शन गर्दा कम्तीमा एक लाख रुपियाँ खर्च हुने उपाध्यक्ष महर्जनले जानकारी दिनुभयो । यो रकम टोलबासीले चन्दाको रूपमा उठाएर चलाउँदै आएको उहाँले जानकारी दिनुभयो । चलनअनुसार गर्नुपर्ने भोज पनि रकम अभावका कारण रोकिएको धेरै भइसकेको उहाँले सुनाउनुभयो । कीर्तिपुर गल्छे टोलले संरक्षण गर्दै आएको यस्तै देवी प्याखँ भने टोलबासीले धान्न नसकेपछि केही वर्षअघिदेखि नै बन्द भइसकेको उहाँले बताउनुभयो । नेवार बस्तीमा यस्ता प्याखँहरूको कलाकारले अभ्यास गर्ने र गहना, पोसाकलगायत सामग्री राख्ने आखाछेँको व्यवस्था हुन्छ । यो प्याखँको आखाछेँ स्थानीय ज्ञानबहादुर महर्जनको घरमा छ । आखाछेँमा एक रक्त लिखित पुस्तक रहेको र त्यो आजसम्म कसैले हेर्न नसकेको कलाकार मुक्तिनाथ महर्जन बताउनुहुन्छ । त्यस्तै, यस नाचको देवगणमध्ये भैरवको सक्कली घुँगरु र मुखुण्डो लगाउने मूल गुरु हीरालाल महर्जनको निधन भइसकेको छ । उहाँपछि कुनै पनि कलाकारले सक्कली घुँगुरु र मुखुण्डो नलगाएको कलाकार मुक्तिनाथ महर्जनले बताउनुभयो । सक्कली गहना लगाउँदा विभिन्न शील पालना गर्नुपर्ने र केही गल्ती भए अनिष्ट हुने विश्वासका कारण सक्कली गहना लगाउने आँट कसैले नगरेको उहाँले बताउनुभयो । यो देवी प्याखँमा भैरव, इन्द्रायणी, ब्रह्मायणी, ख्याक, कवं, पोडे र दागिनी गरी आठ देव तथा मानवगण नाच्छन् । काठमाडौँ उपत्यकामा प्रचलित देवी नाचमा मानव (पोडे) को समेत अभिनय हुने थोरै मुखुण्डो नाचमध्ये कीर्तिपुरको यो देवी नाच पनि पर्ने उपाध्यक्ष महर्जनले बताउनुभयो । प्रताप मल्लको पालादेखि प्रचलनमा रहेको विश्वास गरिएको यो नाच दसैँ र कोजाग्रत पूर्णिमाका दिन देखाउने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार, नेवारी जनश्रुतिमा प्रचलित लाल–हीराको पौराणिक प्रेमकथामा आधारित छ । खिँ, ता, पोंग, झ्यालीका चारवटा तालमा नाचिने यो प्याखँमा हरेक देवीका फरकफरक गीतसमेत हुन्छन् । नृत्य अभ्यास गर्ने ठाउँसमेत अभाव भएपछि नगरपालिकाले यो देवी प्याखँका लागि तः ननिमा आखाछेँ निर्माण गर्दैछ । आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाको १० लाख र वडाको सात लाख रुपियाँ बजेटबाट एक तले भवन बनाउन सुरु गरिएको थियो । गत आव २०७५÷७६ मा पनि नगरपालिका र प्रदेश सरकारको गरी कुल २० लाख बजेट छुटयाई आखाछेँ निर्माणमा लगाइएको थियो । यसपालि वडाले १० लाख लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको कीर्तिपुर–१० का वडाध्यक्ष अमन महर्जनले जानकारी दिनुभयो । यसैगरी, कीर्तिपुर नगरपालिकाले परम्परागत दाफा खलका कालाकारलाई भत्ता दिन थालेको छ । हाल नगरभित्र १३ वटा दाफा खल रहेको र दिनप्रतिदिन दाफा भजन गाउनेको सङ्ख्या घट्दै गएका कारण प्रोत्साहनस्वरूप दाफा गाउने र बजाउनेलाई दैनिक ५० रुपियाँ हाजिरी भत्ता दिने निर्णय गरिएको वडाध्यक्ष महर्जनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?