देवबहादुर कुँवर
काठमाडौँ, असोज ८ गते । कृषि विकास बैंकको ई–बैकिङ कारोवार (चेकर एण्ड मेकर) सिस्टम नै ह्याक भएको खवर लिएर आइतवार दिउँसो प्रहरी रामशाहपथस्थित बैंकको मुख्यालयमा पुग्दा कर्मचारीले पत्याएनन् ।
सिंगापुरमा विकास भएको अत्याधुनिक आइटी सफ्टवेयर प्रयोग भएकाले ह्याक हुनै सक्दैन भन्ने भ्रम पालेका बैंक सञ्चालक तथा कर्मचारीलाई सोमवार विहान पुनः डीएस्पीको कमाण्डमा गएको प्रहरी टोलीले पाँच करोड पाँच लाख ह्याक भएको विवरण देखाएपछि आत्तिए ।
महानगरीय प्रहरी अपराध महाशाखा र बैंकले तत्काल विभिन्न शाखाबाट भएको शंकास्पद रकम स्थान्तरण रोक्न र चेक साट्न आउने ग्राहकमाथि निगरानी बढाएपछि कैलालीको भजनी शाखाबाट दुई र न्यूरोड विशालवजार शाखाबाट दुई गरी चारजना पक्राउ परे ।
यी चारजना ग्राहक पक्राउ पर्नु अघि अपराध महाशाखाले अन्य आठजनालाई नियन्त्रणमा लिई सकेको थियो । पक्राउ परेका १२ जना मध्ये नुवाकोट मेघाङका ४३ वर्षीय लवाङ तामाङ ह्याकरको मुख्य सहयोगी भएको बताइएको छ ।
जडीबुटी ब्यापारी लवाङले ह्याक भएको नगद झिक्न काभ्रेस्थलीका संजय घले, रसुवा नौकुण्डकी लक्ष्मी लामा तामाङ, लक्ष्मीकी छोरी निर्मला र छोरा निम तामाङलाई प्रयोग गरेको अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।
त्यस्तैं, ह्याकरको निर्देशन अनुसार, न्यूरोड शाखाबाट नगद झिक्न गएका तनहुँ भानुका श्रवणकुमार श्रेष्ठ, भक्तपुर थिमीकी सुनिता श्रेष्ठ, कैलाली भजनीबाट विजय शाह र चन्द्रबहादुर बुढा पक्राउ परेका छन् ।
ह्याकिङ घटनाका मुख्य योजनाकार पिटर भन्ने अफ्रिकन नागरिक ‘काले’ का सहयोगी लवाङले ३१ लाख, सर्लाही हरिवनका पुष्पराज खड्का र लमजुङ दोर्दीका विद्यासागर लामिछानेलाई राख्न दिएका थिए । खड्का र लामिछाने पनि पक्राउ परेका छन् ।
अझै अज्ञात रहेका मुख्य ह्याकर काले नेपाली र हिन्दी समेत बोल्ने गरेको पाइएको छ । उनी भारतको मुम्बई रहेको अनुमान प्रहरीको छ । कालेले लवाङ मार्फत कृषि विकास, कैलाश र नविल बैंकमा नयाँ चल्ती खाता खोल्न लगाई ह्याक गरेको रकम जम्मा गरि दिने गरेका थिए ।
अभियुक्त लवाङको ब्यक्तिगत चल्ती खातामा रकम जम्मा गर्न ह्याकरले कृषि विकास बैंक चितवन सौराह शाखाको सेक्युरिटी युजर पासवर्ड, लाहान शाखाको कम्युटर प्रयोग गरी नुवाकोट शाखामा ५० लाख जम्मा गरेको देखिन्छ ।
त्यस्तैं, अन्य रकम कृषि विकास बैंककै न्यूरोड, बालाजु, त्रिशुली, कैलाली, लाहान शाखा तथा कैलास विकास बैंकको मकवानपुर पालुवाङ शाखामा विभिन्न ग्राहकले खोलेको नयाँ चल्ती खातामा जम्मा गराई दिएका थिए ।
ती शाखाहरूमा खोलिएका नयाँ तथा पुराना खातामा रकम जम्मा भएको सूचना अज्ञात ब्यक्तिले बीच्याटबाट दिने गर्छन । महाशाखा प्रमुख थापाले भन्नुभयो–खातामा जम्मा भएको नगद तुरुन्त झिकेर १० प्रतिशत कमिसन राख्न र अन्य हुण्डीमार्फत भारत पठाउन निर्देशन दिने गरेको पाइयो ।
बैंक ह्याक गरी झिकेको १० लाख रुपिँया हुण्डी गरी भारत पठाएको अभियोगमा प्रहरीले न्यूरोडका सुन ब्यापारी भारत कोलकत्ताका ३० वर्षीय शुबन्कर पन्जा पक्राउ गरेको छ । ह्याक भएको पाँचकरोड पाँचलाख मध्ये ३० लाख मात्र क्षति भएको जनाएको छ ।
अभियुक्त पक्राउ परिसकेकाले सो रकम पनि पूर्ति हुने दावी प्रहरीको छ । काले नामक ह्याकरको नेपाल ऐजण्टको रुपमा परिचित लवाङ, उनका साथी सर्लाही हरिवनका पुष्पराज खड्का र विद्यासागर लामिछानेको साथबाट ३१ लाख बराद भएको छ ।
कैलाश विकास बैंकमा जम्मा भएको भएको १५ लाख, पानस रेमिटेन्सबाट झिकिएको दुईलाख ४० हजार र पक्राउ १२ जना अभियुक्तको खातामा जम्मा भएको तथा झिकिएको गरी ६० लाख नगद बरामद भएको छ । शाखा–शाखामा ट्रान्सफर गरिएको बाँकी रकम सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
अपराध महाशाखाका प्रमुख थापाा अनुसार, मुख्य ह्याकर काले र लवाङबीचको एक महिनाभित्रमा एडीवील (कृषि विकास बैंक ) बाट पाँच अर्व झिक्ने र सो रकमको १० देखि ३५ प्रतिशत कमिसन लिई बाँकी रकम भारत पठाउने सम्मको बीच्याट सम्वाद भएको देखिन्छ ।
ह्याकर काले नेपाल–भारत आवत जावत गर्ने र नेपालको ई–बैकिङ सेवासंग परिचित ब्यक्ति भएको अनुमान प्रहरीले गरेको छ । यसअघि चिनियाँ नागरिकले गरेको विभिन्न बैंकको एटीएम ह्याकिङ भन्दा यो घटना फरक भएको अनुसन्धानले देखाएको छ ।
कृषि विकास बैंकको सफ्टवेयर नै ह्याक गरी खातामा जम्मा भएको रकम स्वचालित स्टिम मार्फत ब्यक्तिको खातामा जम्मा हुने र रेमिटेन्स पठाउने गरेको देखिन्छ । घटनामा बैंक कर्मचारीको संलग्नताका विषयमा अनुसन्धान गर्न चार सदस्यीय छानविन समिति गठन भएको बैंकका उपमहाप्रवन्धक दीर्घ अर्यालले बताउनुभयो ।
उहाँले बैंकको सिस्टम नै ह्याक भएकाले आफ्नो कुनै कमजोरी नभएको दावी गर्नुभयो । ग्राहकको निक्षेप सुरक्षित नै छ उहाँले भन्नुभयो –कर्मचारीको संलग्नता पाइएमा कारवाही हुन्छ । थप सुरक्षा सतकर्ता अपनाउनु पर्ने भएको छ ।
यसरी भयो–बैंक ह्याकिङ
आफनो नाम र आइडी नम्वर प्रयोग गरी कुनै अज्ञात ब्यक्तिले फरक–फरक ब्यक्तिका नाममा ६०–६० हजार पैसा पठाएको देखेर नयाँवानेश्वरस्थित पानस रेमिटेन्समा कार्यरत सुमिना धिताल गत आइतवार आश्चार्यमा परिन ।
रकम भुक्तानी दिने काउण्टरमा बसेकी सुमिना लगायत पानस रेमिटेन्स टिमले शंका लागि तत्काल प्रहरीलाई खवर ग¥यो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुरुमा सुमिनाको नामबाट आएको रकम बुझन् गएका संजय घलेलाई पक्राउ ग¥यो ।
अभियुक्त घलेले रकम झिक्नु भन्दा अघि घलेकी माइजु लक्ष्मी, लक्ष्मीकी छोरी निर्मला र छोरा निमले झिकी सकेका थिए । उनीहरुले पटक–पटक गरी चारपटक रकम झिेका थिए । यी चारजनाको पक्राउपछि प्रहरीले घलेमाथि थप अनुसन्धान गर्दा लवाङको नाम लिए ।
लवाङलाई प्रह्ररीले राति नै पक्राउ गरी उनको साथबाट बरामद केही रकमको स्रोत खोज्दा ३१ लाख रहेको पोल खोलेका थिए । उक्त रकम कृषि विकास बैंकबाट झिकेको रहस्य पनि उनैले खोलेका हुन ।
प्रहरीले तत्काल कृषि विकास बैंकबाट झिकीएको रकमको स्रोत तथा आधार खोज्दा लवाङले पिटर नामले चिनिने अज्ञात काले भन्ने ब्यक्तिले खाता खोल्न लगाई उक्त रकम जम्मा गरि दिएको वयान दिएका हुन ।
यतिको रकम कसरी प्राप्त भयो ? भन्ने विषयमा अनुसन्धान गर्दा बैंकको सिस्टम नै ह्याक भएको रहस्य खुलेको हो । घटना सम्वन्धी थप अनुसन्धान गर्दै जाँदा ह्याकर बैंकको सिस्टम भित्र छिरेर पाँचकरोड पाँचलाख नगद कृषि विकास बैंक तथा अन्य बैंकको शाखामा खोलिएको ब्यक्तिगत खातामा जम्मा गरेको देखिन्छ ।
यसमा रकम झिक्दा आफ्नै खाताको रकम ब्यक्तिले झिक्न सक्ने, तर रकम पठाउने ब्यक्ति अज्ञात रहने गरी सिस्टम ह्याक गरेको पाइएको छ । पक्राउ अभियुक्तहरु विरुद्ध संगठित अपराध अन्तरगत मुद्धा चलाइने महाशाखाले जनाएको छ ।