गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुर जिल्ला षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्ले बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
मुद्दामा कार्कीसँग १६ लाख ५६ हजार र काफ्लेसँग १८ लाख पाँच हजार रुपियाँ विगो मागदावी गरिएको छ । कार्की र काफ्ले बिरुद्ध कार्यालयको लेटरप्याड, छाप र चेकसमेत साथमा नै लगेर झुठा खरिद आदेश र दाखिला प्रतिवेदन तयार गरी भुक्तानी गरिएको आरोप लागेको छ ।
यस्तै, अख्तियारले नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरहीका कार्यालय प्रमुख छेदिलाल साह सोनारलाई करारमा जागिर लगाइदिन्छु भन्दै सेवाग्राहीसँग लिएको ८० हजार रुपियाँ घुससहित पक्राउ गरेको छ । अख्तियार अनुसन्धान आयोग बर्दिबासबाट गएको टोलीले सोनारलाई पक्राउ गरेको हो । अभियुक्त सोनारले पटकपटक गरी जागिरको प्रलोभन देखाई सेवाग्राहीसँग तीन लाख रुपियाँ लिएको खुल्न आएको अख्तियारले जनाएको छ ।
यस्तै, यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत (सातौं) भुवन जोशी र अधिकृत (छैठौं) जयराज कारीगरलाई सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग लिएको १५ हजार रुपियाँसहित अख्तियारले पक्राउ गरेको छ ।
आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले बिष्ट, जोशी र कारीगरलाई नियन्त्रणमा लिएको हो । उनीहरुबिरुद्ध विशेष अदालत काठमाडौँमा बुधबार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । यसैगरी, यातायात व्यवस्था कार्यालय, जगाती भक्तपुरका शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेत बिरुद्ध रकम लेनदेन गरी नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
यसैगरी, सवारीचालक अनुमतिपत्रको नेपालीकरणका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेश गरेको आरोपमा सुन्दर अधिकारी बिरुद्ध समेत विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । ००० दीपक