logo
२०८१ मंसिर ८ शनिवार



शपथग्रहण विवाद केन्द्रमै आइपुग्यो

खुला |


शपथग्रहण विवाद केन्द्रमै आइपुग्यो



सुरेशकुमार यादव

काठमाडौँ, असोज १० गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ मा देखिएको शपथग्रहणको विवाद केन्द्रीय कार्यालयसम्म आइपुगेको छ । दुवै पक्षले केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएर एक अर्काको राजीनामा माग गरेका छन् ।
नेकपा प्रदेश २ का कमिटीद्वारा भदौ २४ गते बर्दिवासमा आयोजना गरिएको शपथग्रहण कार्यक्रममा झडप भएको थियो । झडप भएपछि केही नेता तथा कार्यकर्ता घाइते पनि भएका थिए ।
दुवै पक्षले एकअर्काको दोष देखाउँदै एकअर्कालाई कारबाही गर्नुपर्ने माग गरेका छन् । नेकपा प्रदेश २ कमिटीका अध्यक्ष प्रभु साहलगायतका नेताहरूले बर्दिवासमा भएको विवादमा नेकपाका सचिवालय सदस्य माधवकुमार नेपाल र नेकपा स्थायी समितिका सदस्य मातृका यादवको हात रहेको भन्दै राजीनामा माग गर्नुभएको छ ।
प्रदेश अध्यक्ष प्रभु साह लगायतका नेताहरू असोज ७ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उहाँहरूको राजीनामा माग गर्नुभएको हो । भदौ २४ गते बर्दिवासमा भएको घटना सचिवालय सदस्य नेपाल र स्थायी समितिका सदस्य यादवको उक्साहटमा भएको दाबी गर्दै उहाँहरूले त्यसको छानबिन गरी उहाँ दुई जनासहित अन्य पाँच जना केन्द्रीय सदस्यलाई पनि कारबाही गर्न माग गर्नुभएको छ ।
यसअघि अर्को समूहले पनि भदौ ३१ गते नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेलको राजीनामा माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता गराउनुका साथै अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई पनि बुझाउनुभएको थियो ।
प्रदेश २ सहइन्चार्जहरू महेन्द्र पासवान, नागेन्द्र चौधरी, केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साहलगायत १६ जनाले हस्ताक्षर गरी सो पत्र बुझाउनुभएको थियो । सहइन्चार्ज महेन्द्र पासवानले नेकपा प्रदेश २ कमिटीका पदाधिकारीहरूले जिल्ला कमिटी गर्दा जथाभावी गर्नुभएका कारण आफूहरूले उहाँहरूको राजीनामा माग गर्दै पार्टीलाई पत्र बुझाएको बताउनुभयो । प्रदेश २ को जिल्ला कमिटी अनियमित ढङ्गबाट गठन भएको र त्यसलाई सच्याउन केन्द्रीय सचिवालयले पटक पटक निर्देशन दिँदा पनि प्रदेश कमिटीका पदाधिकारीहरूले जबर्जस्ती शपथग्रहण गराउनु भएको हुनाले त्यसलाई रद्द गर्न आफूहरूले माग गरेको उहाँले बताउनुभयो ।
प्रदेश अध्यक्ष साहले सप्तरी र सिरहा कमिटीको शपथग्रहण कार्यक्रम महोत्तरीको बर्दिवासमा राख्दा केन्द्रीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलले कार्यक्रम स्थगित गरी जिल्ला कमिटीलाई सुधार गर्न निर्देशन दिनुभएको थियो तर अध्यक्ष साहले अटेरी गरी जबर्जस्ती कार्यक्रम आयोजना गर्नुभएको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।
प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले पार्टीले बनाएको मापदण्ड र निर्देशिका अनुसार जिल्ला कमिटी गठन गरेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘मानव हो, केही त्रुिट भएको होला, त्यसलाई सच्याउन सकिन्छ, केही सच्याएका पनि छौँ तर जुन ढङ्गको विवाद खडा गरेका छन् त्यसले कसैलाई भलो गर्दैन ।’’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?