logo
२०८१ मंसिर ८ शनिवार



श्याम परदेशीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

खुला |


श्याम परदेशीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


सर्लाही समाचारदाता ।
सर्लाही, असोज १० गते । जिल्ला अदालत सर्लाहीले ठगीको आरोपमा पक्राउ परेका मिटर ब्याजी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सुक्रवार जिल्ला अदालत सर्लाहीका न्यायाधीश कृष्णराम कोइरालाको एकल ईजलासले साहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिनुभयो । साहसँग सुक्रवार नै बयान लिइएको थियो ।
ठगी मुद्दामा पक्राउ परेका परदेशीले नक्कली तमसुक बनाउने गरेको, चलनचल्तीको ब्याजको दर भन्दा निकै बढी दरमा ऋण प्रवाह गरेको, महिला तथा बालिकालाई अभद्र व्यवहार गरिएको जस्ता आरोप लगाइएको छ । सोही आरोप लगाउँदै जाहेरी परेपछि प्रहरीले गत भदौ १५ गते साँझ सदरमुकाम मलङ्गवाबाट परदेशीलाई पक्राउ गरेको थियो ।
उनलाई प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गरेको थियो । अदालतले सुक्रवार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाले परदेशीलाई रौतहट सदरमुकामस्थित गौर कारागार चलान गरिने सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठोरले बताउनुभयो । सर्लाहीमा कारागार भवन नरहेकाले यहाँ विभिन्न अभियोगमा पक्राउ परेकालाई अदालतको आदेशपछि छिमेकी जिल्लाका कारागारमा चलान गरिँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?