logo
२०८१ मंसिर ८ शनिवार



गुरुनानकको जन्मजयन्ती मनाइँदै

खुला |


गुरुनानकको जन्मजयन्ती मनाइँदै


गोरखापत्र समाचारदाता

ललितपुर, असोज १२ गते । शिख धर्मावलम्बीहरूका धर्मगुरु गुरुनानकको ५५०औँ जन्मजयन्ती शनिबारदेखि मनाउन थालिएको छ ।
गुरुद्वारा गुरुनानक सत्संग कुपण्डोलद्वारा शनिबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी, गुरुनानक मठका प्रमुख हरप्रित सिंह, शिरोमणि गुरुद्वारा प्रभाव कमिटीका अध्यक्ष गोविन्द सिंहलगायतले जन्मजयन्तीको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा भारतका अमृतसर, पञ्जाब, हरियाणा र हिमाञ्चल प्रदेशबाट आउनुभएका शिख धर्मगुरुहरूले पनि जन्मजयन्तीको शुभारम्भ गर्नुभयो ।
गुरुनानकको जन्मजयन्ती कात्तिक पूर्णिमाका दिन परे पनि शनिबारदेखि नै मनाउन सुरु गरिएको हो । त्यस अवसरमा राजदूत पुरीले प्रत्येक व्यक्तिले आफूले आर्जन गरेको ज्ञान र सीपलाई अन्य व्यक्तिमा समेत बाँड्नुपर्छ, प्रचारप्रसार गर्नुपर्छ भन्ने मान्यता राख्ने गुरुनानक सम्पूर्ण मानवजातिकै गुरू भएको धारणा व्यक्त गर्नुभयो ।
गुरुद्वारा गुरुनानक सत्संग कुपण्डोलका ज्ञानी बखस सिंहले शिरमा कपाल पाल्ने, दाह्री पाल्ने, शिरमा फेटा (पगरी ) बाँध्ने, शिरमा काइँयो राख्ने, कृपाण (तरबार) धारण गर्ने, हातमा काँडा लगाउने र भित्री पहिरनको रूपमा कछा लगाउनुलाई शिख धर्मको मूल आधारको रूपमा मान्ने गरिन्छ । यी वस्तुहरूको धारण गरिसकेपछि मानिस जातपात, छुवाछूत र भेदभावबाट मुक्त भएको विश्वास यस धर्ममा गरिन्छ ।
काठमाडौँ, वीरगञ्ज, बुटवल, नेपालजञ्ज र कपिलवस्तुको कृष्णनगरमा शिख समुदायको बसोवास रहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?