बेलिना थापा
लमजुङ, असोज १२ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ४ स्याँगेमा पहिरो जाँदा हिमाली जिल्ला मनाङ जाने सडक अवरुद्ध भएको छ ।
स्याँगेको घुम्तिमा शनिबार बेलुका पहिरो जाँदा एउटा स्करपियो जीपमा क्षति पुगेको छ । काठमाडौंबाट बेंसीसहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बर स्करपियो जीप पहिरोमा परेको हो । जीपमा चालकसहित ५ जना रहेको र उनीहरु पहिरोबाट जोगिएको प्रहरीले बताएको छ ।
सडक माथिबाट एक्कासि आएको ढुंगासहितको पहिरोले जीपको अगाडिको भागमा हानेपछि जीपमा सवार सबै जना भागभाग भएको र उनीहरुले भागरे ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ ।
स्थानीय व्यवसायी नरबहादुर गुरुङका अनुसार सडकमाथिको डाँडा भासिएर पहिरो गएपछि मनाङ जाने सडक अवरुद्ध भएको छ । बेंसीसहरबाट मनाङ जाने र मनाङबाट बेंसीसर आउने सवारी रोकिएका छन् । पहिरोले खानेपानीको पाइपमा समेत क्षति पु¥याएको उहाँले बताउनुभयो । प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले पहिरोले सडक अवरुद्ध भएको र जीपमा क्षति पु¥याएपनि मानवीय क्षति भने नभएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले शनिबार बेलुकी स्याँगेमा पहिरो खसेको र मनाङ जाने सडक अवरुद्ध भएको बताउनुभयो । डिभिजन सडक कार्यालय दमौलीसंगको समन्वयमा सडक खुलाउने तयारी गरिएको उहाँले बताउनुभयो । पहिरो खुलाउन ठूलो मेशिन चाहिने समेत उहाँले बताउनुभयो ।