सरोज आचार्य
काठमाडौँ, असोज १३ गते । चारखाल अड्डाका कतिपय भाग झरीले भकाभक भत्कन थालेपछि सँगैको मालपोत कार्यालयमा आउने सेवाग्राही र कर्मचारी त्रसित छन् । यो भवन भत्काएर बटुवा आवागमनको सहजता कसले गर्ने भन्ने
अन्योल छ ।
बेलाबेला पर्खाल भत्कने भएपछि केही समयअघि मात्रै काठमाडौँ महानगरपालिका वडा नं. ३० कार्यालयले भवनको एक भाग भत्काइदिएको थियो । कामनपा–३० का वडाध्यक्ष दलबहादुर कार्कीका अनुसार भवन आफैँ भत्कन गएर गुल्मका प्रहरी दुर्घटनामा पर्न सक्ने सम्भावना देखिएपछि भवनको त्यसतर्फको भाग भत्काइएको हो । कार्कीका अनुसार चारखालको बाँकी भाग हुलाक कार्यालयका नाममा गएकाले अब सम्बन्धित कार्यालय नै व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । करिब २० रोपनी जग्गा ओगटेको चारखालको चार रोपनी सदरखोर डिल्लीबजारले ओगटेको छ भने १३ रोपनी जग्गा सरकारले हुलाक कार्यालयको भवन निर्माणका लागि दिएको छ ।
मालपोत अधिकृत प्रभुनाथ राई भन्नुहुन्छ, “चारखाल लड्लाजस्तो गरी भत्किरहेको छ । यही बाटो भएर सेवाग्राही र कर्मचारी कार्यालय आउँदा गारो लडेर लाग्ला भन्ने त्रास छ, मालपोत कार्यालयले यो खतरा देखाउँँदै होश गरेर कार्यालय आउन सूचना नै टाँस गरेको छ । ” सदरखोरका जेलर अरुण पोखरेलका अनुसार भूकम्पले निक्कै तहसनहस बनाएपछि सदरखोर अड्डा भवनका केही भाग रेट्रोफिटिङ गरिएको थियो । हुलाक र मालपोत कार्यालयतर्फको आवागमन भागसँग नजिक रहेको अड्डाको भाग अपर्झट भत्किएपछि सुरक्षाका दृष्टिकोणले जगैसम्म भत्काइएको छ ।
प्रहरी गुल्मका निरीक्षक पुरुषोत्तम थपलियाले पनि चारखालका बचेका भाग आफैँ भत्कने अवस्थामा रहेको बताउनुभयो । जेलर पोखरेलका अनुसार हुलाकको जग्गातर्फको केही भाग कारागारले प्रयोग गरिरहेको छ । चारखाल भवनमा एक समय जिल्ला अदालत, नापी, मालपोत, भूमिसुधार, सरकारी वकिल कार्यालय, गुठी संस्थानलगायतका जिल्ला कार्यालय सञ्चालनमा थियो ।
यी कार्यालय अन्यत्र स्थानान्तरण गरिएपछि चारखाल भवन बेवारिसेजस्तै भएको छ । सरकारले यो भवनलाई व्यावसायिक कम्प्लेक्स निर्माण गर्ने गरी सरकारले त्यस समय भवन खाली गरेको भए पनि यो पूरा भएको छैन । जेलर पोखरेल र अनाश्रित गुल्मका थपलियाले चारखाल भवन कसको मातहत छ भन्ने आफूहरूलाई जानकारी हुन नसकेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका इन्जिनियर वीरबहादुर कार्कीले भने जीर्ण भवनको अवस्था र आधिकारिकताबारे जानकारी हुन नसकेको भए पनि भवन खतरायुक्त रहेको बताउनुभयो ।