गोकर्ण दयाल
बैतडी, असोज १३ गते । महाकालीको भेल उर्लेर बगेको छ । नदी तर्न पुल छैन । नदी वारपार गर्दा डुङ्गा हुत्तिएर जान्छ । महाकालीको बहामा डुङ्गाबाट पार गर्दा जति बढी खतरा छ, त्यति नै बढी महङ्गो भाडा तिर्नु पर्छ । डुङ्गा तर्दा न लाईफ ज्याकेट छ न त कुनै सुरक्षाको प्रबन्ध । यो बैतडीको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका वासीन्दाले सदिऔंदेखि भोग्दै आएको पीडा हो ।
दशैं आईसकेको छ । नदीमा जोखिम मोलेरै भए पनि उपभोग्य वस्तु किन्न भारत जाने र परदेशमा काम गरेर घर पर्किनेहरुको नदी किनारमा लर्को लागेको छ ।
ज्यान जोखिममा पारेर नदी तर्दा सर्वसाधारणले तीनसय रुपियाँ भाडा तिर्नु परेको पञ्चेश्वर गाउँपालिका–२, डिम्बरघाटकी कमला मंगोलाले पीडा सुनाउनुभयो ।
नेपाल रेडक्रस सोईसाईटी, केयर नेपाल लगायतका संस्थाले जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा निकायलाई उपलब्ध गराएका लाईफज्याकेट वर्षौदेखि सदरमुकाममा थन्किएका छन् ।
महाकाली नदीसंग जोडिएका पञ्चेश्वर गाउँपालिकाका र शिवनाथ गाउँपालिकाले नेपाल–भारत आवत–जावत गर्न नदीमा सात ठाउँमा प्रति घाट छ लाख रुपियाँदेखि आठ लाख रुपियाँसम्म ठेक्का दिएको छ । ठेक्का लिएर डुङ्गा तराउने ठेकेदारले पनि लाईफज्याकेटको व्यवस्था गर्न सकेका छैनन् । न त ठेक्का दिने स्थानीय सरकारको नै ध्यान जान सकेको छ ।
यो विषयमा बैतडीका प्रमखु जिल्ला अधिकारी आनन्द पौडेलले डुङ्गा तर्दा भाडा नियमन गर्न र सदरमुकाममा भएका लाईफज्याकेट उपलब्ध गराउन पहल थाल्ने बताउनुभयो ।
दशैं तिहारको बेला महाकाली नदीको पानीको बहाव वर्खामा जस्तै बढी हुने भएकोले जोखिम मोलेर यात्रुले पाँचसय रुपियाँसम्म भाडा तिर्नु परेको शिवनाथ गाउँपालिका वडा नम्बर १ का स्थानीय माधवसिंह चाँडले बताउनुभयो ।
चाँडले भन्नुभयो,“ लाईफ ज्यकेट हुँदैन । ज्यानको माया मारेर डुङ्गा तर्नु पर्छ । महाकाली नदीमा जति बढी खतरा भयो भाडा पनि त्यति नै बढी तिर्नुपर्छ । हिँउदमा पानी कम भएपछि खतरा पनि कम हुन्छ । भाडा पनि कम हुन्छ । ”
शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुश्मत घाटमा डुङ्गा संचालन गर्न गाउँपालिकाले प्रति घाट वार्षिक सात लाख रुपियाँमा ठेक्का सम्झौता गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।
त्यसै गरि पञ्चेश्वर गाउँपालिकाको डिम्बर घाट, ढोयाघाट, पञ्चेश्वर घाट, बलारा घाट र विनायक घाटमा पनि डुङ्गा चलाउन ठेक्का सम्झौता भएको पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष वीना भट्टले बताउनुभयो ।
गाउँपालिकाबाट डुङ्गाको ठेक्का दिँदा प्रति यात्रु ५० रुपियाँ मात्रै भाडा दिने सम्झौता भए पनि यात्रुले बढी भाडा तिर्नु परेको गुनासो बेला बेला गाउँपालिकामा पनि आउने गरेको उपाध्यक्ष भट्टले बताउनुभयो ।
स्थानीय सरकारले डोजर किनेर गाउँमा सडक पुर्याए पनि खाद्य व्यवस्थाको चामल आईपुगेको छैन । गाडीमार्फत पुगेको केही क्विन्टल चामल पनि बजारको भन्दा पाँच रुपियाँ महङ्गो पुगेको छ ।
जिल्लाको तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका स्थानीय वासीन्दा दैनिक उपभोग्य वस्तु किन्न र स्वास्थ्य उपचार गर्न अहिले पनि भारतमै निर्भर रहेको पञ्चेश्वर गाउँपालिका –४, का वीरेन्द्र चन्दले बताउनुभयो ।