गोकर्ण दयाल
बैतडी, असोज १५ गते । दशैंका लागि घर फर्किने परदेशीको सीमामा लर्को देखिन्छ । त्यो लर्कोसंगै दशैंको खर्च जुटाउन सिमापारी पल्लेदारी गर्न जानेको अर्को दृश्य पनि देखिन्छ ।
घरमा खान लगाउनै धौधौ परेपछि परिवारलाई जमरा छर्दै गर्नु सकेसम्म टीकाको दिन फर्किन्छु भन्दै कामको खोजीमा हिँडेको पुरचौडी नगरपालिका–६ भूमिराज बैतडीका काशी साउदले पीडा सुनाउनुभयो । साउदले भन्नुभयो, दशैंमा राम्रो खान र लगाउन खर्च छैन, त्यसैले सीमापारी पल्लेदारी गर्न हिँडेको हुँ । दैनिक ज्याला मदुरी गर्नेलाई भारतमा पल्लेदार र कामलाई पल्लेदारी भन्ने गरिन्छ ।
बझाङको छेडदह नगरपालिका–७, शुर्माका कृष्ण बोहरा, छबीसपाती गाउँपालिका–५, का सागर बोहरा, बैतडीको पञ्चेश्वर गाउँपालिका–६, का दिनेशराम कोली, डडेल्धुराको नवदुर्गा गाउँपालिका–८, का कमल ऐरको पीडा पनि उस्तै छ ।
दशैंको मुखमा घर परिवार छोडेर काम गर्न कोही सिमा पारी भारत जान्छन् होला त ? सुन्दै अचम्म लाग्ने यो वास्तविक पीडा जिउमा एकसरो राम्रो लुगा नहुँनाले दशैंको मुखमा पनि दुई चार हजार कमाउन गर्ने काम पल्लेदारको हो ।
आईतवार घटस्थापनाको दिन मात्रै झुलाघाट नाका भएर सिमापारी १२ जना नेपाली कामको खोजीमा निस्केका छन् । झुलाघाटस्थित सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार दशैं मनाउन १५सय भन्दा बढी नेपाली घर फर्किरहेको बेला सोही अवधिमा कामको खोजीमा २८७ जना नेपाली भारतको पिथौरागढ गएको तथ्याङ्क छ ।
सिमापारी भारतमा सजिलै दैनिक पाँचसय रुपियाँ कमाउन सकिने भएकोले कामको खोजीमा भारत जाने नेपाली संख्यामा कमी नभएको सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी हवल्दार केशवकुमार खड्का बताउनुहुन्छ ।
गाउँमा कुनै रोजगारी नहुँदा एक हप्ता भए पनि दशैं मनाउन खर्च जुट्ने भएकोले कामको खोजीमा भारतको पिथौरागढ जान लागेको बैतडीको सिगास गाउँपालिका–६, काँडाका नरबहादुर साउदले बताउनुभयो ।
गाउँपालिकामा मेशिन औजार आएदेखि सानातोनो काम पनि पाउन मुश्किल परेकोले दशैंको मुखमा खर्च जुटाउँन भारत जानलागेको सर्वसाधारणको गुनासो छ ।
जिउमा एकसरो राम्रो लुगा समेत नभएका गरिब नेपाली दशैंको मुखमा काम खोज्दै हिँडेको दृश्यले प्रहरीलाई समेत दुःखी बनाउने गरेको सीमा चौकीमा आवत जावत गर्नेको नामावली टिप्दै गरेका प्रहरी हवल्दार लाल खड्काले बताउनुभयो ।
कामको खोजीमा सीमा पारी भारत जाने नेपालीहरू कोही पिथौरागढ र कोही झुलाघाटमै भारी ओहोरदोहोर गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
भारतबाट भारी बोकेर झुलाघाटको पुलसम्मै पुग्ने नेपालीहरूले प्रति भारीको एकसय देखि दुईसय रुपियाँसम्म लिने गरेको मजदुर रामबहादुर धामीले बताउनुभयो । धामीले भन्नुभयो, सकेसम्म दशैंको टीकाको दिन फर्किने कोशिष्समा छु । अझैं टीका आउन एक हप्ता बाँकी भएकोले चार÷पाँच हजार जति त कमाई हुन्छ होला !