logo
२०८१ मंसिर ८ शनिवार



उदाहरणीय झा दिदीबहिनी

खुला |


उदाहरणीय झा दिदीबहिनी



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १६ गते । तराई मधेसका ग्रामीण तथा सहरी क्षेत्रमा अझै पनि छोरीलाई अध्ययन अतिरिक्तका क्रियाकलाप वा खेलकुदमा सहभागी गराइनु आश्चर्यका रूपमा लिइन्छ ।
विद्यालय स्तरसम्म खेलकुदमा सहभागी हुनु स्वीकार्य भए पनि क्षमता हुँदाहुँदै सामाजिक परिबन्ध र लोकलाजले खेलकुद र अन्य सीप विकासका गतिविधिमा सहभागी हुन वञ्चित गरिन्छ । सामाजिक कारणले नै क्षमता एवं प्रतिभा दबाउन बाध्य हुन्छन् छोरीहरू तर यी परिबन्ध र सामाजिक बहसलाई विराम लगाउने प्रयत्न गर्नुभएको छ– प्रदेश २ को लक्ष्मीनियाँ गाउँपालिका–७, कुम्हरौडाका दिदीबहिनी शिषा र रक्षा झाले ।
उहाँहरू बुवा इन्द्रकुमार झाको तीन छोरीमध्ये माहिली र कान्छी हुनुहुन्छ । दुवै दिदीबहिनी राष्ट्रिय कबड्डी टोलीको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय खेलहरूमा समेत सहभागी भएका छन् । शिषाले कबड्डी टोलीको प्रतिनिधित्व गरी भारतको गुवाहाटीमा भएको बाह्रौँ साफ च्याम्पियनसिपमा सहभागिता जनाउनुभयो । प्रतियोगितामा नेपालले तेस्रो स्थानमा चित्त बुझाउँदा शिषाको प्रदर्शन पनि शीर्ष पाँचभित्रै रहेको राष्ट्रिय टोलीका प्रशिक्षक तारासिंह भाट बताउनुहुन्छ ।
शिषा विगतमा मध्यमाञ्चल टोलीको कप्तान रही आफ्नै नेतृत्वमा राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो । बहिनी रक्षाले गत महिना मात्रै दक्षिण कोरियाको चुङ्ग झुमा सम्पन्न विश्व मार्सल आर्ट मास्टरसिपमा राष्ट्रिय कबड्डी टोलीमा सहभागी हुनुभयो । उक्त प्रतियोगिता भदौ १० देखि १७ गतेसम्म चल्यो । भदौ १२ गते श्रीलङ्का र हङकङविरुद्ध खेलिरहँदा रक्षाले बीबीए छैटौँ सत्रको ‘टुरिज्म म्यानेजमेन्ट’ विषयको परीक्षामा अनुपस्थित हुनुप¥यो ।
प्रशिक्षक भाट भन्नुहुन्छ, “कबड्डीमा दक्षता भएका राष्ट्रहरू सहभागी नहुँदा नेपालले दोस्रोस्तरको टिम पठाएको थियो तर एसियामा उत्कृष्ट हैसियतमा रहेको इन्डोनेसिया, जापान र चीन लगायतको १६ टोलीले प्रतियोगितामा सहभागिता जनाएको थियो । नेपालले तेस्रो स्थान प्राप्त ग¥यो ।”
परीक्षा र खेलकुदमध्ये एक छान्नुपर्ने अवस्थामा शिषा र रक्षा आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनुभएन । रक्षा भन्नुहुन्छ, “परीक्षामा सहभागी हुने निर्णयले राष्ट्रिय प्रतियोगिता खेल्न सकेनौँ, जसले गर्दा १३औँ सागको छनोटमा पर्न सकिनँ ।”
राष्ट्रिय कबड्डी टोलीका कप्तान मेनुका राजवंशी शिषा र रक्षाको प्रदर्शन प्रशंसनीय रहेको बताउनुहुन्छ । कप्तान राजवंशी भन्नुहुन्छ, “विभागीय टोलीको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई उछिनेर राष्ट्रिय टोलीमा छनोट हुनु नै दिदीबहिनीको सक्षमता दर्शाउँछ ।” नेपाल पुलिस, सशस्त्र र नेपाली सेनाको टोलीले उच्च अभ्यास र व्यावसायिक प्रशिक्षण पाउँदै आएको छ ।
राष्ट्रिय कबड्डी सङ्घका कोषाध्यक्षसमेत रहनुभएका पूर्वअन्तर्राष्ट्रिय खेलाडी अरविन्द झा भन्नुहुन्छ, “ग्रामीण क्षेत्रबाट आउने खेलाडीलाई विभागीय टोलीसित तुलनै गर्न मिल्दैन ।” उहाँले शिषा र रक्षाले पाएको सफलता उनीहरूको खेलप्रतिको समर्पण र अभिभावकको सुझबुझले पाएको बताउनुहुन्छ ।
पछिल्लोपटक दिदीबहिनी बर्दियामा भएको राष्ट्रिय च्याम्पियनसिप २०७४ मा प्रदेशको प्रतिनिधित्व गरी एउटै टोलीबाट खेल्न भ्याएका थिए । त्यसयता बीबीएको सत्रान्तको परीक्षाले गर्दा दिदीबहिनीसँगै खेल्न सकेको छैन । शिषा बीबीए आठौँ सत्रमा अध्ययनरत हुनुहुन्छ ।
बुवा र काकाले दुवै दिदीबहिनीको खेल अभ्यासलाई ओजस्वी बनाउन मोटरसाइकल किनेर चालक अनुमति पत्रसमेत बनाउन सहयोग गर्नुभएको छ । रक्षा सुरुमा समाजले नराम्रो मान्दा दुवै दिदीबहिनीलाई अप्ठ्यारो महसुस भएको विगत कोट्याउनुहुन्छ । खुसी हुँदै रक्षा थप्नुहुन्छ, “खेलमा सफलता पाउन थालेपछि समाजले नै उदाहरण दिन थालेको छ ।”
पचासको दशकमा शिषा र रक्षाका बुवा इन्द्रकुमार झा र काका परशुराम झा नेपालको राष्ट्रिय कबड्डी टोलीका अब्बल दर्जाका खेलाडी हुनुहुन्थ्यो । काका परशुरामले खेल्नुभएको चारवटा राष्ट्रिय प्रतियोगितामध्ये दुईवटामा प्रथम र बाँकी दुईमा द्वितीय र तृतीय स्थानमा चित्त बुझाउनुप¥यो ।
राष्ट्रिय कबड्डी सङ्घका सदस्यसमेत रहनुभएका परशुराम झा भन्नुहुन्छ, “त्यसताका कबड्डी मात्रै हैन, फुटबल, क्रिकेट, कुस्ती लगायतको खेलमा समेत राष्ट्रिय टोलीमा तराई मधेसका युवाको सङ्ख्या उल्लेख्य हुन्थ्यो ।” तर, ६० पछिको दशकमा भने खेलप्रतिको जागरुकता कम हुँदै गयो । खेल जीवनबाट घरपरिवार र बालबालिकाको भरणपोषण सुनिश्चित नहुने देखेपछि बुवा इन्द्र र काका परशुराम दुवै जना अलग–अलग पेसामा रमाउन थाल्नुभयो ।
भारतका कुस्ती खेलाडी महावीर सिंहको फोगटको कथामा आधारित बलिउड चलचित्र ‘दङ्गल’मा दुई दिदीबहिनीको कथा समेटिएको छ । चलचित्रमा बुवा आमिर खानको सपना पूरा गर्न दुई दिदीबहिनीले सामाजिक परिबन्धलाई चिर्दै कडा अभ्यासपछि कुस्ती खेल्न मैदानमा उत्रेको देखाइएको छ ।
चलचित्र प्रदर्शनमा आउनुभन्दा चार वर्षअघि नै शिषा र रक्षाले २०७० सालदेखि कबड्डीको प्रशिक्षण लिन सुरु गर्नुभएको थियो । दुवैले काका परशुराम र बुवा इन्द्रको कबड्डी यात्रालाई अगाडि बढाएका छन् तर अझै शिषा र रक्षाजस्तै मधेसका अन्य छोरीलाई स्थानीय र प्रदेशस्तरबाट उत्साहित बनाउने काम भने हुनसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?