logo
२०८१ मंसिर ८ शनिवार



क्यानभासमा विजयोत्सवका रङ

खुला |


क्यानभासमा विजयोत्सवका रङ


दीपक श्रेष्ठ

सिन्धुलीगढी, असोज १८ गते । इस्ट इन्डिया कम्पनीका फौजलाई गोर्खालीले परास्त गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा बुधबार विजय उत्सव मनाइएको छ । समृद्ध सिन्धुली अभियानले चित्रकला शिविरको आयोजनासहित विजय दिवस मनाएको हो । विक्रम संवत् १८२४ असोज १५ गते कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सघाउन कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अङ्ग्रेज फौजलाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेका थिए ।
प्रदेशसभा ३ सदस्य विनोद खड्काले क्यानभासमा रङ पोतेर सिन्धुलीगढी कला शिविरको उद्घाटन गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा समृद्ध सिन्धुली अभियानद्वारा आयोजित शिविरमा कलाकारहरूले सिन्धुलीगढीमा रहेका ठूलोगढी, सानोगढी, पौवागढी, दरबार लगायतको चित्रकला क्यानभासमा उतारिरहेका छन् । त्यस्तै कलाकारले अङ्ग्रेज सेनासँग गोर्खालीले सिन्धुलीगढीमा लडेको लडाइँको दृश्य परिकल्पना क्यानभासमा उतार्ने अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताउनुभयो ।
गढीमा तयार भएको चित्रकलालाई राजधानी काठमाडौँमा प्रदर्शन गरिने जनाइएको छ । कलाकारले तयार गरेका चित्रलाई सिन्धुलीगढीको प्रचार गर्न चित्र पुस्तिका, पोस्टकार्ड, क्यालेन्डर आदि सामग्री तयार गर्न प्रयोग गरिने अभियन्ता तथा कला शिविरका संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा कलाकार तथा प्राज्ञ सुषमा राजभण्डारी, सुदर्शनविक्रम राणा, सुनिता राणा, सुरेम देशार, अश्रुराम खाइजू, अनिल खड्का, अंशु थापा मगर, सुदिप विशंखे, अनुस खाइजूको सहभागिता छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य विनोद खड्काले सिन्धुलीगढी सिन्धुलीको मात्र नभएर नेपाल र नेपालीले गौरव गर्नलायकको ऐतिहासिक स्थल भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकारी स्तरबाटै प्रयास हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले सिन्धुलीगढीमा अङ्ग्रेजी सेनामाथि विजय हासिल गरेको दिन असोज १५ गते भन्ने इतिहासविद्हरूले स्पष्ट गरिसकेको अवस्थामा विजय दिवसका बारे कसैले भ्रम राख्न नपर्ने बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा चित्रकला विभाग प्रमुख शुषमा राजभण्डारीले सिन्धुलीगढीमा आएर कला सिर्जना गर्ने अवसर कलाकारले प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कमलजङ्ग राईले जिल्लामा रहेका गढी किल्लाको संरक्षण र प्रवद्र्धनबाट पर्यटनको विकाससँगै आर्थिक विकासमा टेवा
पुग्ने बताउनुभयो ।
कलाकार अश्रुराम खाइजूले ऐतिहासिक सिन्धुलीगढी सम्पदा र युद्धका विषयमा तयार पारिने चित्रले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा महìवपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
सिन्धुलीगढीको प्रवद्र्धनमा समृद्ध सिन्धुली अभियानले हरेक वर्ष राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्दैआएको छ । अभियानले एकीकरण पदयात्राको अभियानसमेत सञ्चालन गर्दैआएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?