logo
२०८१ मंसिर ८ शनिवार



शक्तिपीठमा भक्तजनको भीड

खुला |


शक्तिपीठमा भक्तजनको भीड




गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । बडादशैँका अवसरमा उपत्यकासहित देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड बढेको छ । उपत्यकाका मैतीदेवी, भाटभटेनी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, तारकेश्वर–४ मा रहेको पुरानो गह्येश्वरीजस्ता पीठमा भक्तजनको भीड बढेको हो । मैतीदेवी कालिकास्थान निकै सिँगारिएको छ ।
वसन्तपुर गद्दी बैठक छेवैको कडेल्चोक भगवतीमा वैदेशिक रोजगारीमा जान चाहनेले कामना पूर्तिका लागि स्तुति गरिरहेका छन् । गुह्येश्वरीमा यो बेला विवाह गर्नेहरू पनि धेरै छन् । विवाहका लागि यो बेला साइत पर्खन नपर्ने भएकाले भद्रकाली, बगलामुखीलगायतमा विवाह गर्नेको निकै आगमन छ । कलङ्की, पाटनको पूर्णचण्डी र नालाको उग्रचण्डीमा पनि भक्तजनको भीड छ छ ।
यसैगरी चन्द्रागिरि–१३ मा रहेको कङ्कालीमाई र नागर्जुन नगरपालिकाको स्युचाटारमा रहेको पञ्चकन्यामा भक्तजनको बढी आवागमन भएको छ । स्युचाटार निवासी दशरथ लामिछानेका अनुसार कङ्कालीमाइमा चण्डी पारायण महोत्सव आयोजना भएकाले दवाडी बस्ती, भट्ट बस्ती, सुवेदी बस्ती, लामिछाने बस्ती र आसपासका गाउँपालिकाबाट भक्तजन आएका छन् ।
महानवमीका दिन वर्षको एकपल्ट खुला हुने हनुमानढोकास्थित तलेजुमा पूजाको सुरुआतका लागि सिद्धिचरणचोक दफ्तरको नायखीँ बाजालाई प्रस्तुत गर्ने राम्रो तयारी भएको अध्यक्ष राकेश शाहीले जानकारी दिनुभएको छ ।
तलेजुमा नायखीँको यो शाही टोलीले बलि अर्पण गरिएपछि तुलजा भवानीमा पूजाअर्चना भई सर्वसाधारणसमेतले दर्शन गर्न पाउने व्यवस्थो छ । अध्यक्ष शाहीका अनुसार तलेजुमा बिहान ४ बजे नै दर्शनार्थी प्रवेश गर्न सक्ने छन् ।
रक्तकाली, विजेश्वरी, नरदेवी, कङ्केश्वरीलगायतका काठमाडौँका मध्य सहरमा रहेका यी देवपीठमा भक्तजनको सुविधाका लागि गुठियार रकमी खटिएका छन् । पशुपतिस्थित गुह्येश्वरीमा व्यवस्थापन समितिले भक्तजनलाई निःशुल्क चियापान र स्वास्थ्य परीक्षणसमेत व्यवस्था गरेको यमन डङ्गोलले जानकारी दिनुभएको छ ।
योपल्ट अमालकोट कचहरीमा बडादशैँका दिन पशुपतिनाथका मूल पूजारीले सर्वसाधारणलाई पनि टीका जमरा लगाइदिने गरी अमाल तलेजुमा नवरात्रपूजा भइरहेको अमालका अष्टमान सङ्गतले जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?