प्रकाशचन्द्र भट्टराई
दमौली, असोज २३ गते । तनहुँको भानु नगरपालिका वडा नम्बर १ जामुने गैह्रामा चितुवाको आक्रमणबाट सोही ठाउँका विष्णु बानियाँका चार बर्षीय छोरा आशिक बानियाँको मृत्यु भएको छ ।
बडादशैंको टीकाको दिन घर नजिकै पिङ खेलीरहेको बेला चितुवाले आक्रमण गरेको थियो । साँझ ५ः३० बजे चितुवाले आक्रमण गरेपछि बालकको तत्कालै उद्दार गरि उपचारकोलागि लक्ष्मी अस्पताल डुम्रे ल्याईए पनि साँझ ७ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रे तनहुँका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
यसअघि पनि भानु नगरपालिकाको विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट चार जना बालबालिकाको मृत्यु भईसकेको छ । यस अघि २०७५ कार्तिक २९ गते वडा नम्बर ४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते वडा नम्बर २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, फागुन १ गते वडा नम्बर ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, र गत जेठ २४ गते वडा २ भकुन्थोककी नौ वर्षीया पुष्पा अधिकारीको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
चितुवाले घर नजिकै आई बालबालिकालाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाले भानु नगरपालिकाको वडा नम्बर २ स्थित सामुदायीक वनमा निर्माण गरेको खोरमा गत असोज १५ गते चितुवा पासोमा परेको थियो । चितुवा पासोमा परेपछि ढुक्क भएका भानुवासी पुनः चितुवाको आक्रमणबाट बालकको मृत्यु भएपछि त्रसित बनेको भानु नगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो ।
प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले नरभक्षी चितुवा यथाशीघ्र नियन्त्रणमा लिई नागरिकको जिउधनको सुरक्षा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउनु भएको छ ।
यसैविच चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । कार्यालयले मृतक बालकको परिवारलाई किरिया खर्च स्वरुप बुधबार ५० हजार रुपियाँ उपलब्ध गराएको हो । मृतक बालकको घरमा पुगेर डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल र भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले उक्त रकम मृतकका काका रामचन्द्र बानियाँलाई हस्तान्तरण गर्नु भएको थियो । चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराइने डिभिजन प्रमुख बरालले जानकारी दिनुभयो ।
बन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको डिभिजन वन कार्यालयका प्रमुख बरालले बताउनुभयो ।